Logo

राष्ट्रपतिको गाउमा पानीको जोहो गर्न कुवामा ताला

सुक्खा ठाउँमा खानेपानीको जोहो गर्न आकाशे पानीलाई पोखरी, ट्यांकी, खाल्डो बनाएर सञ्चित गर्ने तथा एकपल्ट ल्याएको खानेपानी फारो गरी चलाउने गरेको सामान्यजस्तै भइसकेको छ । भोजपुरको एक गाउँमा खानेपानीको जोहो गर्न कुवामै ताल्चा लगाउने गरिएको छ भन्यो भने पत्यार नलाग्न सक्छ, तर यो यथार्थ हो ।
सुक्खा लागेका बेला दैनिक जीवनयापन सहज बनाउन जिल्लाको मानेभन्ज्याङस्थित रानागाउँवासी कुवामा तालाबन्दी गर्छन् । सुक्खा र गर्मी मौसम सुरु भएसँगै रामप्रसाद राई गाउँपालिका–५, मानेभन्ज्याङको रानागाउँका बासिन्दाहरू खानेपानी अभाव हुन थालेकाले कुवामा ताल्चा लगाएर पानीको जोहो गर्ने गर्छन् ।
कुवाबाट रानागाउँका करिब १६ घरपरिवारलाई बिहान–बेलुका जेनतेन दुई–दुई गाग्री खानेपानी पुग्छ । खानेपानी अभाव हुँदा पानी जथाभावी चलाउँदा मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानीय रमिला रानामगरले जानकारी दिइन् । उनले भनिन्, “गाउँका सबैलाई चाहिएजति पानी पुग्दैन । एकचोटिमा सबैलाई दुई–दुई गाग्रीजति मात्र पानी पुग्छ । त्यसपछि कुवाको पानी सकिन्छ । पानी थोरै भएकाले लापरवाही नहोस् भनेर ताल्चा लगाएका हौं ।”
पहिले यो कुवामा रानागाउँवासी मात्र नभएर आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडाका गाउँलेलाई पनि खानेपानी लैजान र चलाउन प्रशस्त पुग्थ्यो । पछि बिस्तारै मुहान सुक्दै गएसँगै कुवामा पानीको मात्रा घट्यो । पानी सुक्न थालेपछि रातिराति जथाभावी पानी लैजाने गरेकाले गत कात्तिक सुरुबाट गाउँलेकै निर्णयअनुसार कुवामा ताल्चा लगाउन थालिएको स्थानीय जितबहादुर क्याप्छाकी मगरले सुनाए ।
“पहिला–पहिला कुवाको पानीले सबैलाई मनग्गे पुग्थ्यो, पछि मुहानको सतह घट्न थालेपछि पुग्न छाड्यो,” उनले भने, “खानेपानी नपुगिरहेका बेला वल्लोपल्लो गाउँले रातिराति आएर पानी लैजाने अनि हामी बिहान जाँदा कुवा रित्तो हुने भएकाले ताल्चा लगाउन सुरु ग¥यौं । बिहान ५ बजे र बेलुकी ६ बजे ताल्चा खोलेर हामीले एक÷दुई गाग्री कति पुग्छ, सबैलाई बराबरी पानी बाँड्ने गरेका छौँ ।”
दैनिक जीवनयापन गर्न आवश्यक खानेपानी जोहो गर्दै यहाँका अधिकांश गाउँलेको दैनिकी बित्छ । पानीको संकट भइरहेका बेला गाईवस्तुलाई पानी खुवाउन अत्यन्त कठिन भएको स्थानीय कृष्णकुमारी रानामगरले गुनासो गरिन् । उनका अनुसार खानेपानीको चरम संकटले नै घरपालुवा पशुपन्छी पानी खान नपाएर मर्ने स्थिति आउन लागेको छ । खानेपानी अभावकै कारण वस्तुभाउ पाल्ने रानागाउँका अधिकांश बासिन्दा बेसी सिक्तेल पिखुवा खोलातिर बसाइँ सरेका छन् । रानागाउँ आसपासका ओडारे, लट्रीडाँडा, जुकेपानीमा रहेका तीनवटा कुवामध्ये ओडारेको कुवा सुकिसकेको छ भने जुकेपानीको कुवामा १० घरधुरीलाई दुःखसुख डेढ–डेढ गाग्रीजति पानी पुग्छ । विशेष गरी फागुनदेखि जेठसम्म रानागाउँ मात्र नभई ५ सय १७ घरधुरी रहेको मानेभन्ज्याङमा बर्सेनि खानेपानीको हाहाकार मच्चिने गरेको छ । अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुराँसेलगायत खानेपानी अभाव हुने ठाउँमध्ये अर्चले, भोर्लेनी र अगौटेका करिब ५६ घरधुरी यसअघि नै गाउँबाट विस्थापित भइसकेका छन् भने कतिपय घरधुरी विस्थापित हुने क्रममा छन् ।
अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्