भलवारीबाट पनि ट्यांकरमा लकिङ प्रणाली सुरु

नेपाल आयल निगमले रुपन्देहीको भलवारी क्षेत्रीय डिपोका लागी भारतको बेतालपुर डिपोबाट इन्धन ल्याउने ट्यांकरमा लकिङ प्रणाली लागू गरेको छ । सोमबार बेतालपुर डिपोबाट इन्धन लोड गरिएका ८ वटा गाडीमा लकिङ गरी नेपाल ल्याइएको हो । यसअघि निगमको झापा चारआली डिपोअन्तर्गतका ईन्धन ढुवानी गर्ने ट्यांकरमा यो प्रणाली लागू गरिएको थियो ।
बेतालपुरबाट लकिङ गरिएका आठवटा ट्यांकरको लक (ताला) मंगलबार भलवारी डिपोमा नेपाल आयल निगमका महाप्रबन्धक सुशील भट्टराईले खोलेका थिए । ताला खोल्ने कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, आईओसीका नेपाल आयल निगम हेर्ने मुम्बईका सीजीएम एसएसबोस, उत्तर प्रदेशका सीजीएम भिके बर्मा र बेतालपर डिपोका प्रमुख ए मण्डललगायत उपस्थित थिए ।
बेतालपुर डिपोमा इन्धन ट्यांकरमा लगाइएको ताला भलवारी डिपोमा खोल्दै महाप्रबन्धक भट्टराईले यो प्रणालीले आयल निगम, ट्यांकर व्यवसायी, चालक, मजदुर सबैलाई राम्रो हुने बताए । उनले जेठ अन्तिमसम्म सबै ट्यांकरमा अनिवार्य लकिङ प्रणाली सुरु गर्ने र लकिङ प्रणाली नअपनाउने ट्यांकरको पीडीओ रोक्कासहित सप्लार्ई तथा ढुवानीनै रोक लगाउने बताए । नेपालगन्ज डिपोमा पनि यो प्रणाली तत्काल सुरु हुँदै छ ।
पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेश कशौधनले ट्यांकरमा लकिङ सिस्टम व्यवहार भएको बताए । यसलाई अझ व्यवस्थित बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपानेले लकिङ सिस्टमले ढुवानी र वितरण प्रणाली चुस्त हुने दाबी गरे । भलवारी डिपोअन्तर्गत २ सयभन्दा बढी ट्यांकरले भारतको बेतालपुरबाट इन्धन ढुवानी गर्दै आएका छन् ।