घोराही सिमेन्टद्वारा २५ लाख सहयोग

घोराही सिमेन्ट उद्योगले घोराही उपमहानगरपालिका–४ को विकासका लागि २५ लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित सरोकारवालालाई हस्तान्तरण गरेको छ ।
उद्योगले वडा अध्यक्ष भीमबहादुर सार्कीमार्फत आधारभूत विद्यालय सुनपुरलाई ३ लाख, खानेपानी टंकी निर्माण तथा पाइप विस्तारका लागि ७ लाख, स्वास्थ्यचौकी गोग्लीमा प्रयोगशाला सञ्चालनका लागि ५ लाख ५० हजार र वडाका विभिन्न सडकमा कल्भर्ट निर्माणका लागि १० लाख रुपैयाँ सम्बन्धित उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो ।
उद्योगले सामाजिक उत्तरदायीत्वको नीतिअन्तर्गत सम्बन्धित क्षेत्रका स्थानीयहरूबाट माग भई आएका योजना निर्माणका लागि रकम सहयोग गरिएको जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष सार्कीले वडाभित्र स्थापना भएका उद्योगहरूलाई कानुनको पालना गर्दै सञ्चालन हुन पाउने अधिकार भए पनि स्थानीयहरूको समस्या समाधानका लागि सहयोग गर्नु राम्रो काम भएको बताए । उनले वडा कार्यालय र उद्योगले सहकार्य गरेर काम गरे ४ नम्बर वडा घोराहीका अन्य वडाभन्दा छिट्टै विकास हुने विस्वास व्यक्त गरे । सार्कीले स्थानीयहरूको माग र आवश्यकताका आधारमा आर्थिक स्रोत खोज्ने नीति वडा कार्यालयको रहेको बताए । उद्योगका तर्फबाट जनसम्पर्क अधिकृत अमर सुवेदीले स्थानीयहरूलाई असर पार्ने गरेर उद्योगले काम नगर्ने बताए ।