लमजुङमा ३ वर्षमा ८७ जनाले गरे आत्महत्या

लमजुङमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएको पाइएको छ । समस्याको रुपमा विकराल बन्दै गइरहेको आत्माहत्याको कारण पत्ता लगाई न्यूनीकरण र समाधानका लागि बेलैमा सरोकारवालाहरुले चासो दिनु जरुरी देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७६-७७ मा ३१ जनाले आत्महत्या गरेका पाइएको छ । गत आर्थिक वर्षमा सवैभन्दा धेरै ३० जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक ओमप्रकाश पुनले बताए । सो बाहेक एक जनाले हामफालेर आत्महत्या गरेको प्रहरी निरिक्षक पुनको भनाइ छ ।
आत्माहत्या गर्नेमा महिला भन्दा पुरुष बढी रहेको पनि प्रहरीले जनाएको छ । पछिल्लो तिन वर्षको तथ्यांकलाई मात्रै हेर्ने हो भने जिल्लामा आत्माहत्या गर्नेको संख्या ८७ पुगिसकेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७५-७६ मा ३४ जनाले आत्महत्या गरेका छन् भने ०७४-७५ मा २२ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । प्रहरीको तथ्यांकअनुसार पछिल्लो तिन वर्षको अवधीमा सबैभन्दा धेरै ७८ जनाले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । सो बाहेक पाँच जनाले विष सेवन गरेका छन् भने चार जनाले हामफालेर आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ ।
प्रहरीका अनुसार आत्महत्या गर्नुको पछाडी अशिक्षा, गरिबी, बेरोजगारी, प्रेम वियोग, असफलता, क्षणिक आवेश, मानसिक असन्तुलन, दीर्घ रोग, घरेलु हिंसा आदि हुनसक्ने अनुमान छ ।
पछिल्लो समय इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोगबाट पनि आत्महत्याका घटना बढेको प्रहरीको अनुमान छ । आत्माहत्याका घटना भइरहे पनि केही समय सम्वन्धित घटना चर्चाको विषय बन्छन् तर त्यसका कारण र रहस्यहरु भने अध्ययन र अनुसन्धान भएको पाइँदैन ।
प्रहरी बाहेक आत्महत्या घटनाका कारण खोज्ने अरु कुनै निकाय भेटिएका पनि छ्रैनन् । आत्महत्या बढ्नुका कारण खोज तथा अनुसन्धान गरि समस्याको पहिचान र समाधान तर्फ नलाग्ने हो भने समुदायमा यस्ता घटनाले थप प्रश्रय पाउने सरोकारवालाहरुको बुझाइ छ ।
सन्देश पौडेल