Logo

नौ हजार बढीलाई राहत वितरण

इलाम-सरकारले देशैभर विपन्न तथा मजदुरलाई राहत वितरण गरिरहेको छ । कोरोना भाइरस (कोभिड–१९)कै कारण लकडाउनले गर्दा भोकभौकै पर्नु नपरोस् भनेर राहत वितरण गरिरहेको हो । यसै क्रममा इलाममा पनि ९ हजारभन्दा बढी असंगठित मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय सरकारमार्फत जिल्लाका १० वटा स्थानीय तहका ९ हजार ७ सय ६४ घरधुरीलाई राहत वितरण गरिसकिएको जिल्ला विपद् व्यवस्थापन केन्द्रका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए । सबैभन्दा धेरै इलाम नगरपालिकामा २ हजार ५ सय ३४ घरधुरीलाई राहत वितरण गरिएको उनले बताए ।
माई नगरपालिकामा १ हजार ९ सय ४१, चुलाचुली गाउँपालिकामा १ हजार ५ सय ३९, माङसेवुङ गाउँपालिकामा १ हजार १ सय ९५ र फाकफोकथुम गाउँपालिकामा ७ सय ७९ घरधुरीमा राहत वितरण गरिएको हो । त्यस्तै सूर्योदय नगरपालिकामा ५ सय ५४, देउमाई नगरपालिकामा २ सय ६८, माईजोगमाई गाउँपालिकामा ३ सय ९, रोङ गाउँपालिकामा ४७४ घरधुरीलाई राहत दिइएको हो । सन्दकपुर गाउँपालिकाले गत चैत्र २० गतेबाट वैशाख १५ गतेसम्म ३ हजार ६ सय भन्दा बढि घरधुरीलाई खाद्यवस्तुमा अनुदान दिएको छ ।
गाउँपालिकाले सबै वडामा रहेका उपभोग्य सामग्री बिक्री गर्ने पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा मुल्यमा अनुदान दिएको थियो । गाउँपालिकाले चामलमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिलिटर १० रुपैयाँ, चिउरामा ५ रुपैयाँ र नुनमा प्रतिकिलो ५ रुपैयाँ मूल्य अनुदान दिने निर्णय गरेको थियो ।
वैशाख १६ गतेका दिन १ सय ६ सय ६१ परिवारलाई राहतको कुपन वितरण गरिएको छ । कुपन प्राप्त गर्नेले नजिकैको पसलबाट सरकारले तोकेको मापदण्डको आधारमा राहत लिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । जिल्लामा हालसम्ममा सो संख्यामा राहत वितरण गरिएको छ । पहिलो चरणअन्तर्गत यति राहत वितरण भए पनि दोस्रो चरणको तयारी हुँदै आएको छ । दोस्रो चरणमा राहत पाउने परिवार संख्या बढ्नेसमेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्