निकटलाई राहत वितरण गरेको स्थानीयको आरोप

धनगढी- नोभेल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि गरिएको लकडाउनका क्रममा छाक टार्न समस्या परेका नागरिकलाई राहत दिन तयार गरेको खाद्यान्न उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले आफन्त र निकटका कार्यकर्तालाई वितरण गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारीहरूले आफन्त र आफ्ना पार्टीका कार्यकर्तालाई वितरण गरेको भन्दै बिहीबार धनगढीका बासिन्दा लकडाउनको बेवास्ता गर्दै उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारीले लकडाउन उल्लंघन गर्दै कार्यालयबाट कांग्रेस निकट कार्यकर्ता र आफ्ना निकटलाई राहतको पोका दिएर पठाएको देखेपछि नगरबासीहरू लकडाउनको बेवास्ता गर्दै बिहीबार दिउँसो कार्यालय पुगेका थिए ।
स्थानीय एक महिलाले उपमहानगरको कार्यालयबाट राहत दिइएको थाहा पाएर आफू आएको बताउँदै आफूलाई नदिएको बताइन् । उपमहानगरपालिकाकै एकजना निर्वाचित सदस्यले नाम उल्लेख नगर्ने सर्तमा आफ्ना मानिसलाई नगरपालिकाले राहत दिइरहेको बताए । उनले राहत पाउनुपर्ने परिवारभन्दा निकट हेरेर राहत पठाइरहेकाले वडामा राहत वितरण गर्न समस्या भइरहेको समेत बताए ।
उपमहानगरपालिकाको कार्यालयबाटै राहत वितरणमा भइरहेको थाहा पाएर कार्यालय पुगेका नागरिकहरुको भीड बढेपछि उनीहरूलाई घरघरमै पु-याइदिने भन्दै फर्काइएको छ । तर, धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सन्तोष मुडभरीले कार्यालयमा राहत माग्न आउने जेष्ठ नागरिकलाई बाध्यतावश राहत दिएर पठाएको हुनाले कार्यालयबाट वितरण भइरहेको भन्दा कार्यालयमा भीड जम्मा भएको बताए । उनले राहत वितरण खुला रूपमा गरिने भएकाले कसले पायो, कसले पाएन भन्ने सबैलाई थाहा हुने बताउँदै निकटलाई नदिएको दाबी गरे ।