राहत वितरणका लागि मापदण्ड तयार

सिन्धुली-राहत वितरण प्रभावकारी नभएको भन्दै गुनासो बढ्न थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकामा राहत विरतणका लागि मापदण्ड तयार गरिएको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीको संयोजकत्वमा बसेको स्थानीय विपद् ब्यवस्थापन निर्देशक तथा समन्वय समितीको बैठकले राहत वितरणका लागि मापदण्ड बनाएको हो । बैठकले अबदेखि राहत वितरण गर्दा तलब पेन्सन प्राप्त नगर्ने घर परिवार, सामाजिक सुरक्षा भता प्राप्त नगर्ने घरपरिवार (दलित बालबालिकाबाहेक), खेतीयोग्य जमिन नभएका र नकमाएका घरपरिवार र वैदेशिक रोजगारीमा संलग्न नभएको घर परिवारलाई मात्र राहत प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त मापदण्ड अनुसारको विवरणमा घरमुलीको नाम र उसको परिवार सदस्य संख्या अनिवार्य उल्लेख हुनुपर्ने र नामावली विवरणमा वडा सचिवको दस्तखत र वडाको छाप अनिवार्य गरिएको समेत नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताए । उनका अनुसार अहिले कमलामाई नगरपालिकाले सम्भावित महामारीको विरुद्धमा दु्रत ब्यवस्थापनका कामहरू गरिरहेको छ । “हतार र छिटो व्यवस्थापन गर्दा राहत वितरणमा केही समस्या भएको छ,” उनले भने, “हतारमा वास्तविक विपन्न र गरिब परिवारसम्म राहत नपुगेको भन्ने गुनासो बढेपछि हामीले मापदण्डको आवश्यकता महसुस गरेर मापदण्ड तयार गरेका हौं ।” अब नगर क्षेत्रमा राहत वितरणका गर्दा मापदण्ड अनुरुप प्रदान गरिने उनको भनाइ छ ।
नगरपालिकाको राहत वितरणलाई प्रभावकारी बनाउन सबै नगरवासीले सहयोग गर्नुपर्ने भन्दै गलत विवरण भरेर राहत लिएको पाइएमा यथाशीघ्र नगरपालिकामा खबर गर्न पनि नगरपालिकाले आग्रह गरेको छ । कमलामाई नगरपालिकाले हालसम्म ६७ अतिविपन्न घरपरिवारलाई राहत प्याकेज उपलब्ध गराइसकेको छ । यसैबीच बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचारका लागि सिन्धुली अस्पतालमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
आइसोलेसनको अग्रपंक्तिमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराउने र सो प्रोत्साहन रकमलाई अस्पताल प्रशासनको सिफारिस र अस्पताल व्यवस्थापन समितीको निर्णयका आधारमा सम्बन्धित डाक्टर र स्वास्थ्यकर्मीको बंैक खातामा उपलब्ध गराउने निर्णयसमेत भएको सूचना अधिकारी ढकालले जानकारी दिए ।
यस्तै नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा स्थानीय संघ संस्थाबाट ४ लाख १७ हजार ४२२ रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा नगरपालिकाले भने १२ लाख ६१ हजार १७९ रुपैयाँ जम्मा गरेको थियो ।