Logo

८६ वटा सडक स्तरोन्नति गर्न ९६ करोड बजेट

पर्वत– पर्वतका ग्रामीण सडक सुधार र स्तरोन्नतीका लागि गण्डकी प्रदेश सरकार र संघीय सरकारको शहरी विकास मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा ९६ करोडभन्दा बढी बजेटका योजना कार्यान्वयन गर्न सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष वि.सं. २०८२/०८३ मा पर्वतमा सडक सम्बन्धी ७५ वटा योजनाका लागि ६३ करोड, ५७ लाख विनियोजन भएको छ । यसैगरी शहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय गण्डकी प्रदेशमार्फत कार्यान्वयन हुनेगरी ३३ करोड रुपैयाँ विनियोजन भएको छ ।

गण्डकी प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमै स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित ७५ वटा योजना सञ्चालन हुने बताए । उनले यीमध्ये केही क्रमागत योजना रहेका छन् भने केही नयाँ योजनामा समावेश गरिएका हुन् । उनका अनुसार गत वर्ष भन्दा योजना र बजेट दुवै घटेर आएको छ । यस वर्ष १९ करोड ४५ बजेट घटेको छ भने योजनासमेत झण्डै ५० वटा कम रहेका छन् ।

विगतका वर्षदेखि सञ्चालन हुँदै आएको बहुवर्षिय छ वटा योजनामा स्रोत सुनिश्चित भएको छ । रतीखोला–दराक–चित्रे–गँगटे–राम्जा सडकका लागि १४ करोड ९२ लाख, लुंखुदेउराली–मिलनचोक–बालाकोट सडकका लागि दुई करोड, दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकका लागि एक करोड ६२ लाख, हिलेखोला–कार्कीनेटा–खल्डाँडा–फलेवास रणनीतिक सडकका लागि दुई करोड ५० लाख रकम सुनिश्चित भएको छ ।

यसैगरी दक्षिण पर्वतको पैंयू गाउँपालिकाको सरौखोलामा निर्माणाधिन छत्तिसेघाट पुलका लागि ५१ लख ४० हजार र मिलनचोक–सल्यान–घाखेत सडकका लागि तीन करोड बजेट विनियोजन भएको छ । यो सडक विगत चार वर्षदेखि निर्माणाधीन अवस्थामा छ । यसैगरी ११ वटा क्रमागत योजनालाई पनि यस वर्ष स्रोत सुनिश्चित भएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

उनका अनुसार बस्ती विकास कार्यक्रमअन्तर्गत संघ सशर्त अनुदानबाट पाँच वटा सडकका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ । पर्वतका सबै भू–भागमा नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था नरहेकाले अहिलेको बजेट सबै स्तरोन्नतीमा लगानी गरिने अर्यालले बताए । सालबसाली रुपमा सम्पन्न गर्नेगरी सुरु भएका तर सम्पन्न हुन नसकी चालु आर्थिक वर्षमा दायित्व सिर्जना भएका योजनाको भुक्तानीका लागि ७५ लाख विनियोजन भएको छ ।

जिल्लाका महत्त्वपूर्ण प्रादेशिक सडकको सडक हेरालुबाट नियमित मर्मत सम्भार गर्नसमेत बजेट छुट्याइएको छ । नयाँ योजना भन्दा सम्पन्न हुन नसकेका योजनालाई बजेटमा प्राथमिकता दिएको अर्यालले बताए । स्थानीय विकास पूर्वाधार आयोजना पोखरामार्फत जिल्लाका ११ वटा सडक स्तरोन्नती तथा कालोपत्रका लागि योजना कार्यान्वयन सुरु गरिएको छ ।

आयोजनाका प्रमुख इन्जिनियर जनकराज पन्तका अनुसार दुई वटा वैकल्पिक सहायक राजमार्गसहितका योजना रहेका छन् । वैकल्पिक राजमार्गमा पूर्णगाउँ–लाङ्दी–घुरुङ्सेरा, गाड्तारा–गिज्यान–तिलाहार सडकका लागि तीन करोड र मिलनचोक–शालिजा–बगरफाँट–बाँसखर्क सडकका लागि तीन करोड गरी छ करोड बजेट रहेको छ । जिल्लाका अन्य महत्त्वपूर्ण नौ सडकका लागि २७ करोड बजेट विनियोजन भएको र कार्यालयले कार्यान्वयन प्रक्रिया सुरु गरेको पन्तले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख अर्यालले चालु आर्थिक वर्षमा सालबसाली र बहुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिए । उनले कार्यालयमा प्राविधिक कर्मचारीको अभाव, बहुवर्षिय योजनामा पर्याप्त बजेटको कमीलगायतका समस्या रहेको जानकारी दिए । पर्वतमा गत आर्थिक वर्ष २०८१/०८२ मा संघ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै ४५ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्