Logo

ठेकेदारकै लापारबाहीले पुल निर्माणमा ढिलाइ

 

कर्णाली राजमार्गका १३ पुल अधुरै, ७ मात्रै सञ्चालन

जुम्ला-कर्णाली राजमार्गमा गाडी गुड्न थालेको करिब १३ वर्ष बढी भयो । सवारी सञ्चालनमा सहजताका लागि राजमार्गमा पर्ने विभिन्न खोलामा पक्कीपुल निर्माणको थालनी गरेको पनि करिब एक दशक बढी भयो । तर अहिलेसम्म कर्णाली राजमार्गका १३ वटा पक्कीपुल अधुरै छन् भने सातवटा मात्रै सञ्चालनमा आएका छन् ।
द्रुत गतिमा निर्माण नहुनु, बीचमै ठेकेदार हराउनु, निमयन नहुनु लगायतका कारणले पुल निर्माण कार्यले गति लिन नसकेको हो । वर्षाको समयमा खोला बढेर आउँदा हुने जोखिम कम गर्न, यातायातलाई सहज बनाउन राज्यले अर्बौं लगानी गर्दा पनि समयमै पुल निर्माण नहुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ । एक लेनको साँघुरो सडक आफैंमा जोखिपूर्ण छ । त्यसैमाथि वर्षौंदेखि अधुरा राजमार्गका पुलले यात्रा सास्तीपूर्ण हुने गरेको चालक उद्धव बस्नेत बताँछन् । कर्णाली राजमार्गको विकास अपेक्षाअनुसार नभएको, समयमै काम नगर्ने ठेकेदारलाई कारबाही नगर्नु मुख्य समस्या हो ।

१३ पक्कीपुल अधुरै
कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने झक्सीखोला पक्की पुल निर्माण सुरु भएको करिब ७ वर्ष भयो । तर अहिलेसम्म अधुरै छ । सुन्दा पनि अचम्म लाग्छ झक्सीखोला पुल निर्माणका लागि अहिलेसम्म पाँचजना ठेकेदार फेरिए । बीचमै फरार हुने र ठेकेदार फेरिने उक्त आयोजनाले आफ्नो स्वरुप भने अहिलेसम्म फेर्न सकेको छैन । करिब ५ करोड लागतको पक्कीपुल एक वर्षमा निर्माण गर्ने सम्झौता सात वर्ष पहिले भएको पाँचौवाला ठेकेदार पूर्णप्रसाद उपाध्यायले बताए ।
म पाँचौ ठेकेदार हुँ  । मभन्दा अघि चार गए । समयमै रकम भुक्तानी नभएका कारण देखाउँदै अघिल्ला ठेकेदार गएका हुन् । सात वर्ष पहिले निर्माण सुरु भएको झक्सीखोला पुलको बल्लतल्ल ८० प्रतिशत काम सकिएको छ । यो एक उदाहरणमात्रै हो, वर्षौं पहिले सम्झौता भएका निर्माण कम्पन्नी ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गका करिब १३ पुल अधुरै रहेको भेटिएको छ । कर्णाली राजमार्गमा स्थलगत रिर्पोटिङ गर्ने क्रममा राजमार्गको कालिकोट र दैलेख खण्डमा काम हुँदै गरेका, अलपत्र अधुरा गरी १३ पुल भेटिएका हुन् । जसमा कालिकोट खण्डको नाग्मघाट, भिग्म, टाकुल्लाखोला र सेरिघाटमा नयाँ बन्दै गरैको पुल गरी ४ वटा पुल अधुरै छन् ।
दैलेख खण्डअन्तर्गतको दहीखोला पुल, घटे खोला (बेलिब्रिज) पुल निर्माण हुँदै, भेल्तडी गाउँ पुल, राकम कर्णाली पुल, शाहीखोला नजिक पुल, पाल्ताडाखोला पुल, सियाला गाउँनजिक सडकसँगै नयाँ पुल, तल्लो डुंगेश्वर अगाडि खोलाको पुल गरी जम्मा १३ वटा पुल अहिले पनि अधुरै छन् । यीमध्ये पाल्तडा, सियाला गाउँनजिकको पुल भने केही महिनामा सञ्चालनमा आउने छ । तर १-२ वर्षमा सकिने पुल ठेकेदारकै लापरबाहीले अलपत्र परेका हुन् । अलपत्र भएका पुलमध्ये ६० प्रतिशत पुल निर्माण भइरहेको छ ।

७ वटामात्रै अधुरा
कालिकोट खण्डको, खल्लाघाट २ वटा पुल, बालिघाटखोला पुल, बिहानीखोला र सेरिघाट गरी चारवटा पुल धौधौ गरी सञ्चालनमा आएका छन् । त्यस्तै दैलेख खण्डको कुमालु खोला र बोट खोला पुल सञ्चालनमा आएका हुन् । सबैन्दा धेरै पुल रहेको दैलेख खण्डमा अहिलेसम्म २ वटा पुलमात्रै सञ्चालनमा आउनु स्थानीय तथा प्रदेश सरकार प्रशासनले ताकेता नै गर्न नसक्नु हो । दैलेख खण्डको किटु खोला, झक्सीखोला लगायतको निर्माणकार्य जिम्मा लिएको (याक्थुमहार गोल्डेन जेभी काठमाडौं)ले हालसम्म पुल निर्माण गर्न नसकेको पाइएको हो ।
त्यस्तै कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले बल्लबल्ल काम सम्पन्न गरेको छ । काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने भनेको सडक डिभिजन कार्यालय सुर्खेतले नियमन गर्न नसक्दा पुल निर्माण अलपत्र भएका हुन् । सरकारले करोडौं लगानी गरेर नत अनुगमन गर्ने, नत ठेकेदारलाई ताकेता दिने मुकदर्शक सरकारकै कारण कर्णाली राजमार्ग हस्तक्षेप भएको दैलेखका अर्जुन शाहीको आरोप छ ।
सडक डिभिजन जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले अब एक वर्षभित्रमा कर्णाली राजमार्गका सबै पुल निर्माण सम्पन्न भइसक्ने दाबी गरे । विगत केही वर्षदेखि अलपत्र पुलको निर्माणकार्य द्रुत गतिमा भइरहेकाले अब चाँडै सञ्चालनमा आउने छन् । उनले भने, “सबै ठेकेदारलाई काम गर्न प्रदेश सकार सडक डिभिजनले ताकेता दिइरहेकाले अहिले निर्माण तीव्र गतिमा भइरहेको उनको भनाइ छ । बजेट अभाव हुने, अनुगमन नगर्ने कारणले मात्रै ढिला भएको भण्डारीले उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्