घरघरमा पानी आएपछि छत्रगञ्जका स्थानीय हर्षित

अर्घाखाँची- छत्रदेव गाउँपालिका छत्रगञ्जका स्थानीयको घरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित भएका छन् । दैनिक पानी भर्नका लागि कुवामा धाउने छत्रगञ्जका बाबुराम आचार्यको घरमा खानेपानीको धारा आएपछि उनी खुसी छन् । बिहानको समय पानी भर्नका लागि कुवामा ग्रागो लिएर जानुपर्ने समस्या टरेको आचार्यले बताए ।
बिहान उज्यालो भएपछि पानी भर्नका लागि खानेपानीको कुवामा पुग्ने छत्रगञ्जका कृष्णबहादुर खत्री पानीको धारा घरमा आएपछि खुसी छन् । बिहानको समयमा विद्यार्थीले अध्ययन गर्ने समयमा खानेपानीको कुवामा पुग्नुपर्दथ्यो, गाउँमा वृद्धवद्धालाई पनि समस्या थियो, यो सहज भएपछि स्थानीय खुसी भएका छन् । काटेका रूख खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर रायमाझी भन्छन्, “खानेपानीको समस्या रहेको छत्रगञ्जमा यो आयोजना सम्पन्न भएपछि निकै सहज भएको छ ।” खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब ३ करोड रूपैयाँ खर्च भएको छ ।
“खानेपानी आयोजना सम्पन्न गर्नका लागि स्थानीय निकाय, सरकारी संघसंस्थाको सहयोगमा सम्पन्न गरेका छौं,” उनले भने । साविकको छत्रगञ्ज गाविस वडा नं. १ देखि ६ सम्मका छ सय घरधुरीलाई खानेपानीका लागि सहज हुने भएको छ, उपभोक्ता समितिका सचिव भोजबहादुर रायमाझीले भने । “घरघरमा धारा निर्माण भइसकेका छन् । सबैको घरमा एक घर एक धारा अभियानअन्तर्गत २ र ३ महिनामा मिटर जडान गर्छांै,” समितिका कोषाध्यक्ष नवराज रायमाझीले भने ।
छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल भन्छन्, गाउँपालिकाले खानेपानी आयोजनालाई विशेष प्राथमिकताका साथ अगाडि सारेको छ । “सुक्खाग्रस्त क्षेत्र घोषणा गरी छत्रदेव अगाडि बढेको छ, वडा र पालिकाबाट खानेपानीलाई प्राथमिकता दिएका छौं,” पोख्रेलले भने ।