Logo

दसैंभित्रको आर्थिक अन्तर्य

नेपाली लोकजीवनमा हिन्दूहरूले मनाउने महत्वपूर्ण पर्व नै दसैं हो । दसैं पर्वले लामो कालखण्डदेखि नेपाली समाजमा विशेष स्थान ओगटेको छ । दसैं भन्नासाथ यससँग आर्थिक पक्ष पनि घनिभूत रूपमा जोडिएर आउने गर्छ । त्यसैले दसैं पर्वभित्रको आर्थिक पक्षलाई सहज रूपमा विश्लेषण गर्न सकिन्न । खासगरी हुनेखाने र हुँदा खाने दुवै वर्गको एउटा समान पर्व हुने श्रेय दसैंलाई भए पनि यस पर्वभित्रका विषमताको चर्चा गर्र्नुपर्दा यो सम्पन्न र धनाढ्यवर्गको मात्र महान् चाड हो भन्न सकिन्छ ।

दसैं शाकाहारी र मांसाहारी सबैले त्यत्तिकै महत्वले लिएको पाइन्छ । त्यसो त दसैं भन्नासाथ मासुको चाड पनि भन्ने बुझिन्छ । अरू बेलाभन्दा यस बेला मासुको बढी खपत पनि हुन्छ । खसी, बोका, भेडा, च्याङ्ग्रा, कुखुरा, हाँस, राँगाको व्यापार स्वाभाविकै रूपमा यस बेला बढेको पाइन्छ । घरघरमा खसीबोका मार हान्नु र मासुका परिकार खानुलाई दसैंसँग जोडिएको अर्को पक्ष हो भन्न सकिन्छ । मांसाहारीले मात्र होइन, शाकाहारीहरूले पनि उत्तिकै रमाइलो गरी मनाउँछन् यो पर्व । आर्थिक दृष्टिकोणले पनि बढी खर्च हुने चाडका रूपमा दसैंलाई लिइन्छ ।

दसैंमा खासगरी विभिन्न प्रकारका घरायसी सामानदेखि लिएर लत्ताकपडा, मरमसला पनि खरिद हुने गर्छ । सुनका गहना, मोबाइल, ल्यापटप, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, स्कुटर, मोटरसाइकल, कारको पनि निकै खरिद हुने गर्छ । देशभित्र तथा देशबाहिर पनि पारिवारिक भ्रमण गर्ने योजना बनेका कारण यस समयमा निकै नै कारोबार हुने गरेको पाइन्छ । अन्य चाडपर्वका तुलनामा दसैंमा बढी मात्रामा आर्थिक कारोबार हुने हुँदा यस पर्वलाई आर्थिक दृष्टिले पनि विशेष महत्वको पर्व मान्न सकिन्छ ।

दसैं कसैलाई पनि दशा बन्नु हुँदैन भन्ने अर्थमा दसैंप्रति कमजोर र न्यून आर्थिक अवस्था हुनेको सहज पहुँच नहुनु भन्ने बुझिन्छ । त्यसैले दसैंको आवरणमा यसपछिका दिनहरू दुःखमय नहुन् भन्ने भावना हामी सबैमा अन्तर्निहित हुनुपर्ने देखिन्छ । आयो दसैं ढाल बजाई, गयो दसैं ऋण बोकाई भन्ने यस कथनसँगै दसैं पर्वभित्र अन्तर्निहित जटिल आर्थिक पाटोको सहजै बोध गर्न सकिन्छ ।

दसैंका लागि बिदेसिएका र गाउँघर छाडेकाहरू घर फर्कन जमर्को गर्दै छन्, तर दसैंको मुखमा नै परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढीपहिरोले नेपाली मनमुटुलाई झस्काएको छ । दसैं हो कि दशा ? घरबारको ठेगाना नभएकाहरूलाई दसैं त साढे सातको खेल बन्न पुगेको छ । केही दिनअगाडि आएको वर्षाका कारण बाढीपहिरोले कृषिमा पौने ६ अर्ब र भौतिक पूर्वाधारमा ११ अर्बको क्षति पुगेको छ । सडक सञ्जाल क्षतविक्षत भएको छ, जसका कारण आफ्नो गन्तव्यतिर बढेका कदमलाई पनि ज्यादै कठिनाइ भएको छ ।

‘फेरि आयो दसैंरूपी दशाको खेल, गरिबलाई चाडपर्व साढे सातको खेल’ भनेजस्तो भएको छ केही वर्गलाई दसैं । यो हुनेखाने सम्भ्रान्त वर्गका लागि सामान्य तर गरिबका लागि वर्षको एक दिन आउने भएर पनि दसैं दशा बनेर उभिएको छ । दसैंले विभेदताको पर्खाल ठड्याएको छ, जुन क्रम युगौँदेखि अनवरत रूपमा नै चलिरहेको छ । दसैंको समापनपश्चात् ऋणी र निम्नवर्गलाई थप सकस बढ्छ, घरखेत उखाडिन्छ । त्यसैले नेपाली अर्थतन्त्रको सुधार नहुन्जेलसम्ममा यस प्रकारका कुनै पनि चाडपर्वको गरिमा र अस्तित्वले जीवन्तता पाउन सकेको देखिँदैन ।

टीका, खेलबाड, मदिरा पनि दसैंमा खुबै जमेको पाइन्छ । आफूभन्दा ठूलाका हातबाट टीका थाप्न र आशिष थाप्ने विशिष्ट परम्परा पनि पछिल्लो समयमा आएर पैसामुखी भएको छ । दसैंमा दिइने दक्षिणा सामाजिक प्रतिष्ठासँग जोडिएको छ । यस अवसरमा हुने खेलबाडको चर्चा कसरी गर्न सकिन्छ र ? त्यसो त नेपालीलाई जुवातास खेल्न निहुँ चाहिने अवसरमा दसैंले नै खेल्न इजाजत दिएपछि खेलबाड त चम्कने नै भयो । त्यस्तै, साथीभाइ, इष्टमित्र जम्मा भएर आफ्नो गच्छेअनुसारको खेल हुने हुँदा यस पर्वलाई जुवातासको महान् अवसरका रूपमा लिइन्छ भने यस अवसरमा ठूलै आर्थिक चलखेल हुने गर्छ ।

विगतको भन्दा वर्तमानमा दसैंको परिवेश बदलिएको छ । घरमै बसेर मोबाइल हेर्दै विदेशी तथा स्वदेशी मदिरामा इष्टमित्र, साथीभाइ रम्नु कुनै नौलो विषय बनेन । त्यसैले यस अवसरमा मदिराको पनि राम्रै व्यापार हुने गर्छ । मदिराबिनाको दसैं अब त कल्पनासमेत गर्न गाह्रो भएको छ । सहरीकरण र विदेशी सभ्यता तथा संस्कतिका कारण मदिरा अब सामाजिक ड्रिङ्क भइसकेको छ । सभ्य र हुनेखानेका लागि दसैंमा अनिवार्य वस्तु बनिसक्यो । साथीभाइहरू जम्मा भएर तास खेल्नु, मदिरा पिउनु हाम्रा चाडबाडभित्रका रूपान्तरित पक्ष हुन् । विदेश गएर आएका भाइसाथीहरूले उपहारका रूपमा विदेशी ब्रान्डका मदिरा दिने चलन पनि नेपाली संस्कारका रूपमा विस्तार हुँदै आएको छ । यस प्रकारको चालचलन र गतिविधिलाई हाम्रो संस्कृतिभित्र मौलाएको परसंस्कृति ग्रहणको एउटा ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ ।

बडादसैंमा बजारमा सामान खरिद गर्नेको भीड लाग्ने हुँदा चोरी, पाकेटमारी पनि बढी नै हुने गर्छ । दसैंका अवसरमा विविध सामग्री किनमेल गर्ने चलन बढ्दा अन्य समयको भन्दा तेब्बर खर्च बढ्ने आर्थिक प्रक्षेपण छ । हिजो ५० रुपैयाँमा दसैं मनाइयो भन्ने ज्येष्ठ नागरिक अहिलेको बजारभाउ सुनेर आत्तिन्छन् । सगरमाथाको चुचुरोझैं महँगीको चुचुरो पनि चुलिएको चुलियै छ, कहिल्यै घट्ने होइन । विपत् भोगेका उपभोक्तालाई बजार मूल्यले झस्काएको छ । त्यसो त नेपाली बजारमा बिचौलियाको दबदबा कति बढेको छ त्यसको लेखाजोखा गरी साध्य नै छैन ।

सरकारले स्पष्ट नीति नल्याएसम्म महँगी नियन्त्रण हुन सक्दैन र उपभोक्ताहरू ठगिने नियति कायमै रहन्छ । त्यस्तै सवारी साधनको भाडामा पनि मनपरीतन्त्र हाबी भएको छ । छोटो तथा लामो दूरीका सार्वजनिक यातायातको मनोमानी भाडाका कारण आज उपभोक्ताहरू झन् पीडित बन्न पुगेका छन् । त्यसैले दसैंभित्र थुप्रै आर्थिक घटक जोडिएका कारण यसलाई मर्यादित रूपमा मनाउन आर्थिक समृद्धिको आवश्यकता पर्छ । आज विदेशी रेमिटेन्समा निर्भर हाम्रो देशको अर्थतन्त्रजस्तै चाडपर्व पनि परिवारको रेमिटेन्समा निर्भर छ भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस्