सडक स्तरोन्नतिसँगै पुल निर्माण सुरु

गोरखामा एकसाथ तीनवटा सडक स्तरोन्नति र एउटा पुल निर्माणकार्य सुरु भएको छ । ढोडेनी–सिम्जुङ–भच्चेक सडक, चोरकाटे–कुमालगाउँ–सिमलाफेद–राम्चे–बरामगाउँ–थुम्का सडक, ढुङ्गागाडे–बुंकोट–नाम्जुङ–घैरुङ–मनकामना सडक स्तरोन्नति र गोरखा नगरपालिकाको कुमालगाउँ र सिरानचोक गाउँपालिकाको चोरकाटे जोड्ने पुल निर्माणकार्य सुरु भएको हो । चारवटै योजनाको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय लमजुङमार्फत यी योजना कार्यान्वयन हुनेछन् ।
१४ किलोमिटर लम्बाइको ढोडेनी–सिम्जुङ–भच्चेक सडक २० करोड ५६ लाख रुपैयाँमा स्तरोन्नति हुने भएको हो । प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडकअनुसार स्तरोन्नति हुन लागेको सो सडक बनाउने जिम्मा बिरुवा नाना गोरखा जेभीले पाएको छ । सो सडक २०७८ मंसिर ५ गतेभित्रै ग्राभेल भैसक्नुपर्ने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले जानकारी दिए ।
यस्तै, करिब १० किलोमिटर लम्बाइको चोरकाटे–कुमालगाउँ–सिमलाफेद–राम्चे–बरामगाउँ– थुम्का सडक २१ करोड २९ लाख रुपैयाँको बजेटमा कालोपत्रे हुनेछ । सो सडक स्तरोन्नतिका लागि लामा कन्ट्रकसनले जिम्मा पाएको छ । २०७८ असोज ३१ गतेसम्म सडक स्तरोन्नति भैसक्नुपर्ने पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । सडक स्तरोन्नति भएपछि सिरानचोक र अजिरकोट गाउँपालिकाका स्थानीयलाई बाह्रै महिना गाडी चढ्न सजिलो हुने अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष चन्द्रा गुरुङले बताइन् ।
गोरखा नगरपालिकाको ढुंगागाडेदेखि बुंकोट–नाम्जुङ–घैरुङ–मनकामना सडक ३३ करोड ९१ लाख रुपैयाँ बजेटमा कालोपत्रे गरिने भएको हो । १२ किलोमिटर सो सडक २०७८ कात्तिक ६ गतेभित्र नै कालोपत्रे सक्नुपर्ने गरि कार्यालयले लामा कन्ट्रक्सनसँग सम्झौता गरेको छ ।
मन्त्री बस्नेतले दरौंदी नदिमाथि बनाउने झोलुंगे पुलको पनि शिलान्यास गरेका छन् । तीन करोड २९ लाख रुपैयाँको लागतमा गोरखा जगदम्बा जेभीले गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका जोड्ने गरी पुल निर्माण गर्नेछ । २०७७ चैत २७ गतेभित्र पुल निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चारवटै योजनाको शिलान्यास गर्दै मन्त्री बस्नेतले ठेक्का सम्झौताअनुसार समयमा नै योजना निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।