Logo

एउटै कम्पनीको पेबर्स लगाउने निर्णयको विरोध

बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाले एउटै कम्पनीको पेबर्स लगाउने आदेश दिएपछि उपभोक्ता आक्रोशित भएका छन् । बिर्तामोड नगरपालिकाले प्रत्येक वर्ष नगरबाट पेबर्स लगाउने नाममा करोडौं रकम निकासा गर्ने भए पनि झापाको अर्जुनधारामा सञ्चालित बिल्डकन इन्डस्ट्रिज प्रालिको मात्र पेबर्स प्रयोग गर्न अनुमति दिएर आर्थिक चलखेल गरेको उनीहरूको आरोप छ ।

बिर्तामोड नगरपालिकाका साना गल्ली तथा सडकहरूमा पेबर्स लगाउने अभियान नै सञ्चालन गरिएको र त्यसका लागि झापाको अर्जुनधारामा सञ्चालित बिल्डकन इन्डस्ट्रिज प्रालिको मात्र पेबर्स प्रयोग गर्नुपर्ने अन्य कम्पनीको पेबर्स प्रयोग गर्दा बिर्तामोड नगरपालिकाले रकम भुक्तानी रोक्का गर्ने गरेको उपभोक्ताहरूले आरोप लगाएका छन् ।

बिर्तामोड नगरपालिका–३ मा रहेको नवदुर्गा टोल विकास समितिले १ सय १५ मिटर लामो भित्री सडकमा पेबर्स लगाउनका लागि उपभोक्ता समिति गठन गरिएको थियो । वडा कार्यालयले करसहित ५ लाख रुपैयाँ मात्र विनियोजन गरेकोमा ४ मिटर चौडाइ रहेको सो सडकमा पेबर्स बिछ्याउँदा बिल्डकन इन्डस्ट्रिजका प्राविधिकले ६ लाख २३ हजार ४ सय ६५ रुपैयाँ लगानी पर्ने बताएको उपभोक्ता समितिका अध्यक्ष मोहन ढकालले जानकारी दिए ।

रकम अपुग हुने भएपछि उपभोक्ताहरूले विनियोजित रकमबराबरमा काम गर्न सक्ने कम्पनीको खोजी गर्दा भद्रपुरको लक्ष्य ब्रिक एन्ड मेटल इन्डस्ट्रिजका सञ्चालक सूर्य श्रेष्ठले वडाबाट विनियोजित रकमको करबाहेक ४ लाख ६५ हजार रुपैयाँमा पेबर्स लगाउने बताएपछि लक्ष्य ब्रिक एन्ड मेटल इन्डस्ट्रिजले पेबर्स लगाउने काम गरिरहेको उनले बताए ।

आफूहरूले बिल्डकन इन्डस्ट्रिजको पेबर्स प्रयोग नगरी लक्ष्य ब्रिक एन्ड मेटल इन्डस्ट्रिजको पेबर्स प्रयोग गरेकाले बिर्तामोड नगरपालिकाले रकम भुक्तान गर्न आलटाल गर्ने पो हो कि भन्ने आशंका उब्जिएको उनको भनाइ छ । बिल्डकनले बिर्तामोडका सडकमा ६० एमएमको पेबर्स बिछ्याउँदै आएको र बिल्डकनले उत्पादनको २ वर्ष ग्यारेन्टी दिने गरेको र थप दुई वर्ष फुटेको ठाउँको पेबर्स परिवर्तन गर्ने सञ्चालक नवीन गट्टानीले बताए ।

सडकमा ८० एमएमको पेबर्स प्रयोग गर्ने, १० वर्ष ग्यारेन्टी दिने र १० वर्षभित्रमा टुट–फुट भए पेबर्स परिवर्तन गर्ने लक्ष्य ब्रिक एन्ड मेटल इन्डस्ट्रिजका सञ्चालक सूर्य श्रेष्ठले बताए । बिर्तामोड नगरपालिकाले लगातार बिल्डकन कम्पनीको पेबर्स मात्र प्रयोग गर्न उपभोक्तालाई दबाब दिनु रहस्यको विषय भएको उपभोक्ता समितिका अध्यक्ष ढकाल बताउँछन् ।

नेपाल गुणस्तर (एनएस) को नाममा एउटै उद्योगबाट उत्पादित पेबर्स निरन्तर प्रयोग गरिनु रहस्यमय भएको बताउँदै उनले बिर्तामोड नगरपालिकाले ग्यारेन्टी थोरै भएको लागत बढी पर्न जाने सो पेबर्सको विकल्प खोज्नुपर्नेमा जोड दिए । बिल्डकनको मात्र पेबर्स खरिद गरेको भन्दै सरोकारवालाले त्यसको विरोध गरे पनि हालसम्म बिर्तामोड नगरपालिकाले स्थानीयको विरोधलाई सम्बोधन नगरेको उनीहरूको आरोप छ ।

बिल्डकनबाट ठूलो कमिसन आउने भएकाले त्यही कम्पनीको उत्पादनलाई मात्र बिर्तामोड नगरपालिकाले सिफरिस गर्ने गरेको उनीहरूको आरोप छ । बिर्तामोड नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले मापदण्ड नपुग्ने कम्पनीको उत्पादन प्रयोग गर्न नदिएको बताउँदै बिल्डकनले एनएस चिह्न प्राप्त गरकाले सोही कम्पनीको पेबर्स प्रयोग हुँदै आएको जानकारी दिए । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा मात्र ४.४४ किलोमिटर पेबर्स बिछ्याएको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्