कर वृद्धिविरुद्व व्यवसायी आन्दोलित

बिर्तामोड– आर्थिक मन्दीका कारण व्यवसाय नै बन्द गरेर पलायन हुने अवस्थामा पुगेका व्यवसायीहरू स्थानीय तहले कर वृद्धि गरेपछि आन्दोलनमा उत्रने भएका छन् । कोरोना कहरका कारण दुई वर्ष व्यवसाय नै बन्द गरेर बस्न बाध्य व्यवसायीहरूले त्यसपछि आफ्नो व्यवसाय सुरु गरे पनि पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण व्यवसाय नै बन्द गरेर पलायन हुने अवस्थामा पुगेको अवस्थामा स्थानीय तहको कर वृद्धिले थप धराशायी बनाएको बताए ।
आर्थिक मन्दीका कारण व्यापार नहुँदा घरभाडा र बैंकको ब्याजसमेत तिर्न धौधौ परेका बेला बिर्तामोड नगरपालिकाले कर वृद्धि गरेर व्यवसायीको ढाड सेक्ने काम गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको भनाइ छ । उनले बिर्तामोड नगरपालिकाले कर वृद्धिका विषयमा व्यवसायीहरूसँग परामर्श गर्नुको साटो मनोमानी रूपमा कर वृद्धि गरेको जिकिर गरे । उनले व्यापारीहरू व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको बेला बिर्तामोड नगरपालिकाले कर वृद्धि गरेर व्यवसायीलाई पीडामाथि पीडा थपेको बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बिर्तामोड नगरपालिकाले करको दर तत्काल घटाउनुपर्ने बताउँदै तत्काल करको दर नघटाए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए । इन्जिनियर रोशन सुवेदीले बिर्तामोड नगरपालिकाले वृद्धि गरेको कर अव्यावहारिक भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गरे । त्यस्तै व्यवसायी सुजन शिवाकोटीले बिर्तामोड नगरपालिकाले विज्ञापन करमा अव्यावहारिक रूपमा व्यवसायीहरूसँग कर संकलन सुुरु गरेको भन्दै आफूहरू विज्ञापनबापतको कर तिर्न असक्षम रहेको बताए ।
व्यवसायी सजेश शिवाकोटीले पेट्रोलियम व्यवसायीहरूबाट बिर्तामोड नगरपालिकाले चर्को रूपमा कर असुलेर व्यवसायीलाई धराशायी बनाउने काम गरेकोमा जोड दिए । उनले बिर्तामोड नगरपालिकाले व्यवसायी करमा गरिएको वृद्धि तत्काल फिर्ता नलिए आन्दोलनको विकल्प नरहेको बताए । व्यवसायी तथा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीले बिर्तामोड नगरपालिकाले कृषिक्षेत्रमा गरेको कर वृद्धि तत्काल फिर्ता लिनुपर्ने जिकिर गरे । कृषि क्षेत्रलाई स्थानीय तहले प्रोत्साहन गर्नुको सट्टा हतोत्साही बनाउने हिसाबले कर लादेको उनको भनाइ छ ।
व्यवसायी राजेन्द्रकुमार थापाले बिर्तामोड नगरपालिकाले करप्रति गरेको वृद्धि तत्काल फिर्ता लिनुपर्ने बताउँदै वृद्धि गरिएको कर फिर्ता नलिए व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिए । व्यवसायी तथा नेपाल उद्यमशील महासंघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीले बिर्तामोड नगरपालिकाले गरेको कर वृद्धि अव्यवहारिक भएकाले त्यसविरुद्ध व्यवसायीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन् । व्यवसायी युवराज बाँस्कोटाले कर वृद्धिका विरुद्ध सशक्त ढंगमा आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।
व्यवसायी कृष्णप्रसाद घिमिरेले बिर्तामोड नगरपालिकाले कर वृद्धि गर्दा व्यवसायीसँग छलफल र परामर्श नगरेको भन्दै वृद्धि गरिएको कर आन्दोलनकै माध्यमबाट घटाउनुपर्नेमा जोड दिए । व्यवसायी गौरव तिम्सिनाले बिर्तामोड नगरपालिकाले वृद्धि गरेको कर सबैले बहिष्कार गरेर सशक्त आन्दोलनमा जानुको विकल्प नरहेको बताए । व्यवसायी विपिन बजगाईंले बिर्तामोड नगरपालिकाले मनपरी ढंगबाट कर लगाउने काम गरेको भन्दै त्यसविरुद्ध सशक्त आन्दोलनका लागि व्यवसायी एकजुट हुनुपर्ने बताए ।
व्यवसायी चिरञ्जीवी अधिकारीले कर वृद्धि गर्दा व्यवसायीको अवस्था, कारोबारलगायतको मूल्यांकन गर्नुपर्नेमा बिर्तामोड नगरपालिकाले मनपरी ढंगबाट कर वृद्धि गर्ने निर्णय गरेको भन्दै सबै व्यवसायी एकजुट भएर आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए । कांग्रेस नेता लक्ष्मी आचार्य, एकीकृत समाजवादीका नेता श्रीप्रसाद सिटौला, राप्रपा नेतृ रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका अर्जुन उप्रेती, माओवादी केन्द्रका नेता जेबी जबेगूलगायतले बिर्तामोड नगरपालिकाले हचुवाको भरमा कर वृद्धि गरेकाले व्यवसायीहरूले गर्ने आन्दोलनप्रति राजनीतिक दलको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । बिर्तामोड नगरपालिकाले गरेको कर वृद्धिविरुद्ध बिर्तामोडका व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन् ।