‘राज्यले सहयोग नगर्दा व्यवसायी पलायन हुन थाले’

दाङ– यतिबेला नेपालीको चाडपर्व भित्रिसकेका छन् । चाडपर्व नजिकिँदै गर्दा अघिल्ला वर्षमा बजारमा चलपहल तथा व्यापार व्यवसाय राम्रै हुने गर्दथ्यो । तर अहिले बजार सुनसान देखिन्छन् । बजारमा किनमेल गर्न उपभोक्ताको भीड लाग्ने दाङका बजार प्रायः सुनसान छन् ।
जिल्लाका बजारी क्षेत्र घोराही, नारायणपुर, तुलसीपुर, लमही, भालुबाङ, गढवा, हापुरेका व्यापारी ग्राहक पर्खेर बस्ने, घाम ताप्ने र पसिना बगाउने मात्रै काम भइरहेको छ भने सहरका मुख्य चोकमा नै सटर खाली छन् । यसै कारण व्यवसायमा हात हालेका पनि पलायन भएका छन् भने केहीले व्यापार बिक्री गर्नका लागि ग्राहक खोजिरहेको बताउँछन् ।
तर पनि व्यवसायीले यस्ता समस्या भोगिरहँदा पनि राज्यले निजी क्षेत्रको समस्या बुझ्न नसकेको लमहीमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । देउखुरी उद्योग वाणिज्य संघको २०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले उद्योग, व्यवसाय धराशायी बनेको र यो अवस्थाबाट पार लगाउन सरकार गम्भीर नभएको आरोप लगाएका थिए । राज्यले समस्या प्रति ध्यान नदिए व्यवसायी विदेश पलाउने हुने उनीहरूको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपालको अर्थतन्त्र खस्किँदो र डामाडोल अवस्थामा पुगेको बताए । शर्माले राज्य गम्भीर नहुँदा अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको उनको भनाइ थियो । राजनीतिक हस्तक्षेपका कारण देशको सिंगो अर्थतन्त्र धरापमा परेको शर्माले बताए ।
‘व्यापारीका समस्या लगेर राज्यकहाँ कैयौं पटक गयौं, हुन्छ हामी गर्छौं भन्ने जवाफ मात्रै आउँछ, तर काम हुँदैन,’ उनले भने, ‘व्यावसायिक एकताबाट मात्रै यी समस्याबाट पार पाउन सकिन्छ । हामी मिलेर राज्यलाई खबरदारी गर्नुपर्ने बेला आएको छ ।’ राज्यले निजी क्षेत्रबाट खाली कर असुली गर्नेको रूपमा लिएको उनको भनाइ छ । व्यवसायी पलायन रोक्नका लागि कुनै पनि सरकारले नीति ल्याउन नसकेको उनको भनाइ छ ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले अर्थतन्त्रको मारमा परेका व्यवसायीको समस्यालाई मध्यनजर गर्दै लमही नगरपालिकाभित्र व्यवसाय गर्ने व्यवसायीसँग लिने करको शुल्क घटाएको बताइन् । पछिल्लो समययता जर्जर अवस्थामा रहेका व्यवसायीलाई ध्यानमा राखी करको दायरा बढाउने र शुल्क घटाउनेमा नगरपालिका लागिरहेको योगीको भनाइ थियो ।
‘सामान खरिद बिक्रीको मूल्यमा एक रूपता ल्याउन आवश्यक छ,’ उनले भनिन्, ‘पलायन भएका व्यवसायीलाई पुनः स्थापनाका लागि पनि कार्यक्रम बनाउँछौं ।’ खुला सिमानाका कारण व्यापारी मारमा परेको वक्ताको भनाइ थियो । व्यसायमा लगाएको लगानी नउठ्ने भन्दै वैदेशिक रोजगारीमा जाने व्यवसायीको संख्या बढ्न थालेको गढवा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी रविलाल आचार्यले बताए ।
‘व्यवसायीको मुटु चलेको छ, स्वाशमात्रै चलेको छ, शरीर मृत अवस्थामा पुग्न थाल्यो,’ आचार्यले भने, ‘व्यवसायलाई माथि उठाउने जिम्मेवारी राज्यको हो कि होइन, यही अवस्थामा अघि बढ्ने हो भने मुलुक कहाँ पुग्छ ?’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्सेर मियाँ र केशवराज भण्डारीले उद्योगी व्यवसायीको समस्या सम्बोधनका लागि महासंघले पहल गरिरहेको बताए । निजी क्षेत्रले उठाएको समस्याका बारेमा राज्यले समस्या नसुन्दा अवस्था विकराल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।