Logo

खाद्यन्न अभावले मूल्य आकासियो

अनुदानको खाद्यन्न अभावसँगै मूल्यवृद्धि आकासिएको छ । सडक अवरुद्ध भएको मौका छोपेर जुम्लाका व्यापारीले अस्वभाविक मूल्य बढाएको स्थानीयवासीले बताएका छन् । हाल जुम्लामा सरकारी अनुदानको खाद्यन्न अभाव हुनु र बजारमा महँगी बढ्नुले स्थानीयको जिविकोपार्जनमा समेत समस्या देखिनथालेको छ । केही समय अघिसम्म २ हजार २ सय ५० रुपैयाँ पर्ने चामलको मूल्य २ हजार ५०० रुपैयाँ पुगेको छ ।

गाउँमा एक बोरा चामलमा २५० रुपैयाँसम्म मूल्यवृद्धि हुँदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । सरकारी अनुदानकै खाद्यन्न उपभोग गरिरहेका नागरिक अहिले बाध्य भएर ऋण जोहो गरेर बजारको महँगो चामल किन्न बाध्य छन् । यसैबीच साउन १५ र त्यसअघि गरी दुई पटक नेपाल आयल नियमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको थियो । साउन १५ मा ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको थियो ।

तर पनि हिमाली जिल्लामा विगतमा २ हजार २०० रुपैयाँमा बिक्री हुँदै आएको ग्यास प्रतिसिलण्डर १३० रुपैयाँले घट्दा २ हजार ७० रुपैयाँ अर्थात केही ढुवानी जोडेर बिक्री हुनुपर्ने भएता पनि जुम्ला सदरमुकाममा प्रतिसिलिण्डर २ हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ । ग्रामिण बजारमा २ हजार २५० रुपैयाँ भन्दाबढी मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै खाने तेलको मूल्य घट्दासमेत पूरानै मूल्यमा बिक्री भइरहेको छ । विशेषगरी चामल, ग्यास र तेलमा उपभोक्ता चर्को दबाबमा परेका छन् ।

हालसम्म कर्णाली राजमार्ग अवरुद्ध नभएपनि व्यापारीहरुले विभिन्न बाहानामा तलबाटै बढेर आएको भन्दै ग्याँस चामल र तेलको मूल्य बढाएको स्थानीय देवीप्रसाद सिम्खडाले गुनासो गरे । उनले भने,‘आफ्नै उत्पादनले ५/६ महिना मुस्किलले पुग्दैन । ज्याला मजदुरी गरेर भएपनि सस्तोमा खाद्यकै चामल खान्छन् । अहिले अभाव भएपछि वितरण रोकिएको छ । यस्तो परिस्थितिमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाइनु गलत हो । ग्यासको मूल्य घट्यो भनेपनि पुरानै मूल्य तिर्न बाध्य छौं । कडा बजार अनुगमन हुनुपर्छ । कालोबजारी गर्नेलाई कारबाही गरिनुपर्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जुम्लामा आक्रमक बजार अनुगमन गर्ने बताएका छन् । बजारमा महँगी बढेको, ग्यासको मूल्य नघटेको गुनासो आएको उनले स्वीकारे । ‘स्वच्छ बजार र स्वस्थ नागरिक बनाउने उद्देश्यसहित चाडै संयुक्त बजार अनुगमन हुन्छ । मूल्य बढाउने, म्याद सकिएका सामान बेच्ने, जानी जानी उपभोक्ता ठग्ने व्यापारीलाई ठाउँको ठाउँ कारबाहि गछौं । जरिवाना पनि तोक्छौ’ उनले भने ।

बजार अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रजिअ हमालले कालेखोली लाइनमा खोलिएका मासु पसलले दुर्गन्ध फैलाएको भन्ने गुनासो आएको जाकारी दिए । पटक–पटक बजार अनुगमन हुने गरेको छ । तर उपभोक्ता ठगिने क्रम भने रोकिएको छैन । उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटाले मूल्यवृद्धि नियन्त्रणबारे चासो राखिएको बताए । उनले भने, ‘सबै व्यापारीबाट मूल्यसुचि मागेका छौं । खरिद मूल्य र बिक्री मूल्यको अनुसन्धान गर्दै छौं । ग्याँसको मूल्य विगतको भन्दा केही घट्नु पर्ने हो । किन घटेन यसबारे अनुगमन गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्