Logo

लायन्स क्लबद्वारा राहत वितरण

उदयपुर- लायन्स क्लब इन्टरनेसलले उदयपुरसहित सप्तरी, सिरहा र रौतहट जिल्लाका ७ सय ५० घर बाढीपीडितलाई राहत वितरण गरेको छ । लायन्स क्लब इन्टरनेसनलको डिस्ट्रिक ३२५ को ए टु शाखाले एक परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ केजी चना, १ लिटर तेल, १ केजी नुन र १ केजी चिनी वितरण गरेको हो ।
यसैगरी दैनिक प्रयोगका लागि एक-एक थान तन्ना, बाल्टी र मगसमेत वितरण गरेको क्लबले जनाएको छ । क्लबको नेपालस्थित डिस्ट्रिक ३२५ को ए टु शाखाकी गभर्नर शोभा जोशीले प्रतिपरिवार १ हजार ४ सय ५० रुपैयाँ बराबरको राहत वितरण गरेको बताइन् । “रौतहटको माधवनारायण नगरपालिका, ओखलढुंगा र रामेछापमा थप सामग्री पठाउने तयारी गरेका छौं ।” जोशीले भनिन्, “लायन्स क्लब केन्द्रीय कार्यालयबाट प्राप्त भएको २० हजार डलर र आफ्ना सदस्यबाट संकलन गरिएको रकमबाट राहत वितरण गरेका हौं ।”
उदयपुरको बेलका नगरपालिका १ तपेश्वरीमा क्लबले १ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । यसैगरी सिरहाका १ सय ५० र सप्तरीका ३ सय ५० परिवारलाई राहत वितरण गरिएको लायन्स क्लब इन्टरनेसनल नेपाल शाखाको डिस्ट्रिक ३२५ ए टु का सल्लाहकार तथा पूर्वतर्फका इन्चार्ज शिवकुमार कटुवालले बताए ।
“बाँकी राहत रौतहटमा वितरण गरेका छौं,” कटुवालले भने, “यतिले नपुगेर रौतहटमा थप राहत लैजाने तयारी गरिएको छ ।” गएको बाढीपहिरोले प्रदेश नं १, २ र ३ मा बढी क्षति गरेकोले क्लबले सोहीअनुसार राहत वितरण गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्