१२ वर्ष लगाएर बनेको संकलन केन्द्र प्रयोगविहीन

१२ वर्ष लगाएर सुर्खेतमा निर्माण गरिएको जडिबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्र प्रयोगविहीन बनेको छ । आर्थिक वर्ष २०६८/०६९ सालदेखि निर्माण सुरु गरिएको उक्त जडिबुटी संकलन केन्द्र गत वर्ष निर्माण सकिए पनि अझैसम्म सञ्चालनमा नआएको हो । उद्योग मन्त्रायको सहयोगमा सुर्खेत उद्योग वाणिज्य संघले जडिबुटी संकलन, प्रशोधन तथा व्यवसाय सञ्चालन गर्ने उद्देश्यले केन्द्र निर्माण सुरु गरेको थियो ।
काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा केन्द्र बनेको छ । भवन निर्माण कार्य सकिए पनि केन्द्रसम्म पुग्ने भरपर्दाे सडक तथा विद्युत नुहँदा सञ्चालन गर्न नसकेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंँडेलले बताए । सरकारी निजी साझेदारी लगानी मोडेलमा बनेको उक्त केन्द्र प्रयोगमा ल्याउनका लागि प्रदेश सरकारले आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने अध्यक्ष कँडेलको भनाइ छ ।
कम्तीमा पनि केन्द्रसम्म सहज रूपमा सवारी साधन पुग्न सक्ने सडक निर्माणमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनले बताए । प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा अहिले कर्णालीका व्यवसायी कच्चा पदार्थकै रूपमा नेपालगन्ज हुँदै भारततर्फ सस्तो मूल्यमा जडिबुटी बिक्री गर्न बाध्य छन् । जडिबुटीका लागि प्रदेशमा संकलन तथा प्रशोधन केन्द्र नहुँदा बाहिरका व्यापारीले गाउँगाउँमा पुगेर खरिद गरेर लिने गरेका छन् । जसबाट सर्वसाधारणले पनि उचित लाभ पाउन सकेका छैनन् ।
जडिबुटी प्रदेश सरकारको राजस्व संकलनका लागि एउटा महत्वपूर्ण क्षेत्रका रूपमा रहेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा जडिबुटी निर्यातबाट प्रदेश सरकारले चार करोड ८७ लाख राजस्व संकलन गरेको छ । प्रदेश सरकारले पनि हरेक वर्षका नीति तथा कार्यक्रममा प्रदेशस्तरको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने भन्दै आएको छ । तर हालसम्म पनि जडिबुटी संकलन तथा प्रशोधन केन्द्र निर्माणको कुनै पनि काम अघि बढाउन सकेको छैन ।
मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले प्रदेश सरकारले बनाउने भनेको जडिबुटी संकलन तथा प्रशोधन केन्द्रका लागि छिञ्चुमा विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । जग्गा प्राप्त नहुँदा अन्य काम अगाडि बढ्न नसकेको श्रेष्ठले जानकारी दिए । कर्णाली प्रदेशलाई जडिबुटीको प्रचुर सम्भावना भएको प्रदेशको रूपमा हेरिन्छ । प्रदेश सरकारले पनि कर्णालीमा पाइने जडिबुटीलाई प्रशोधन तथा संकलन केन्द्र बनाउन हरेक वर्ष बजेट विनियोजन गरेको छ ।
तर प्रदेश सरकारको उक्त योजनाले अझैसम्म मूर्तरुप लिन सकेको छैन । जडिबुटी संकलन तथा प्रशोधन केन्द्र नहुँदा सस्तोमा बिक्री भइरहेको छ । वीरेन्द्रनगर–९ कालिमाटीमा बनेको जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको गत शुक्रबार कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर विसीले स्थलगत अवलोकन गरेका छन् । अवलोकनपछि मन्त्री विसीले सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रतिबद्धता जनाएको सँगै गएको सुर्खेत उद्योग वाणिज्य संघको टोलीले जनाएको छ ।