Logo

पुल निर्माण सँगै सवारी साधन सञ्चालन

पोखरा महानगरपालिका–३ र ११ जोड्ने नदीपुरस्थित नारायणथानमा आर्क वृज (पुल) निर्माणकार्य सम्पन्न भएसँगै सवारी साधन चल्न थालेका छन् ।

करिब डेढ वर्षदेखि उक्त पुल निर्माणको क्रममा रहेकाले पोखराको नदीपुर क्षेत्रबाट मणिपाल शिक्षण अस्पताल जान आउनका लागि सेवाग्राहीलाई कठिन भएको थियो । उक्त पुल सञ्चालनमा आएसँगै स्थानीयदेखि सेवाग्राहीलाई सहज भएको छ । उक्त पुलको विकल्पमा महेन्द्रपुल हँुदै नेपाल टेलिकमको गेट अगाडिबाट मणिपाल क्षेत्रमा आवतजावत गर्नुपर्ने बाध्यता थियो ।
उक्त पुलको निर्माणकार्य हालै सम्पन्न भएसँगै सञ्चालनमा आएको पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहन बाँस्तोलाले बताए । ११.६ मिटरको चौडाइ र ८० मिटरको लम्बाइमा उक्त पुल निर्माण भएको अध्यक्ष बास्तोलाले बताए । करिब २० महिनाअघि निमार्णकार्य सुरु भएको उक्त पुल ११ करोड २३ लाखको लागतमा निर्माण भएको उनले बताए । उक्त पुल १० टन क्षमताको भएको अध्यक्ष बास्तोलाले जनाए । उक्त पुलको फिनिसिङअन्तर्गत ट्राफिक सिग्नल, बत्ती, रेलिङ, व्यवस्थापन लगायतका केही काम बाँकी रहेको अध्यक्ष बास्तोलाले बताए । उक्त परियोजना हिराचन मुक्तिनाथ ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । कम्तीमा ५० वर्ष उक्त पुलको आयु हुने बताइएको छ ।
उक्त पुल निमार्णकार्य सम्पन्न भएसँगै पोखराको सेतीनदी वारपार गर्ने पोखराको महेन्द्रपुल, चाइनापुलको विकल्पमा समेत प्रयोग हुनसक्ने पोखरा महानगरपालिका–३ का वडाध्यक्ष रविन्सन प्रजुले बताए । केही महिनादेखि पोखरा–३ नदीपुरदेखि पोखरा–११ फूलबारी अर्थात् मणिपाल हस्पिटल जानका लागि समेत अर्को बाटो जानुपर्ने अवस्था शुक्रबारदेखि हटेको छ । पोखरामा निर्माण भएका पुलमध्ये यो पुल नयाँ संरचनामा स्टिल वृजको आधारमा निर्माण भएकाले आफूहरूरुले सोचेअनुसारको दिगो हुने अध्यक्ष प्रजुले बताए । दुई लेनको पुलसँगै पुलको पूर्व तथा पश्चिम क्षेत्रमा सडक निर्माणसमेत भएको छ ।
कम्पनीका अध्यक्ष ओम हिराचनले उक्त पुल निर्माण भएसँगै केही दिन सवारी साधन नचलाउन भने पनि सञ्चालनमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्