मटर खेतीमा किसानको आकर्षण घट्दै

कुनै समय थियो किसानले मटरकोसा बेचेर नै घरखर्च चल्थ्यो । जिविकोपार्जनमा साथ दिँदै आएको मटर खेती पछिल्लो समय किसानले गर्न छोडेका छन् । इलामको पहाडी तथा उच्च पहाडी क्षेत्रको मुख्य नगदेवाली मटर खेती किसानले गर्न छोडेका छन् । श्रम, मल, बीउको खर्च नै उठ्न छोडेको भचन्दै किसानले यो खेती गर्न छोडेका छन् ।
यस खेतीमा बढ्दो रोग र श्रमशक्तिको अभावमा खेती गर्न छोडिएको किसान बिनोद खतिवडाले बताए । पहाडी तथा दुई हजार पाँच सय मिटर उचाइ माथिका लेकाली क्षेत्रमा साउन भदौमा मटर रोपिन्छ । मकैबारीमा लगाइने मटर ड्याड. बनाएर लगाइने गरिन्छ । साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर अन्तिमसम्म बजारमा खरिद बिक्रीका लागि योग्य हुन्छ ।
लेकाली क्षेत्रको मुख्य आयश्रोत बनेको मटर खेती अहिले भने खस्कँदै गएको छ । पहाडी क्षेत्रमा फस्टाउने मटर हाल किसानले घरमा खान सामान्य रुपमा मात्र लगाउने गरेका छन् । रोपेको तीन महिनामै लटरम्म फल्ने मटर कोसा घरमैं बिक्री हुने भएपनि जलवायु परिवर्तनले रोगको प्रकोप बढेसँगै खेती घट्दै गएको किसान बताउँछन् ।
मापदण्ड पुर्याई खेती गरेको खण्डमा एक किलो बीउ बराबर तीन मनसम्म मटर कोसा फल्ने गरेको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा विशेष गरी यसको खेती हुँदै आएको थियो । भारतमा छठ पर्वमा यसको माग उच्च हुन्छ । कात्तिक महिनामा उत्पादन गर्न सके यसको दामसमेत उच्च रहने गरेको छ ।
केही समय अघिसम्म किसानले उत्पादन गरेको मटर राम्रो गरी बिक्थ्यो या प्राय मटर नबेच्ने किसान कमै मात्रामा हुन्थ्ये । मुख्य सिजनका बेला प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने किसानको भनाइ छ । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकामा यसको बढि मात्रामा खेती हुने गरेको थियो ।
तर पछिल्लो समय ती क्षेत्रका किसानले खासै मटर खेती गर्दैनन् । उनीहरुले सामान्य घरमा केही छाक तरकारी खान मात्र यसको खेती गने गरेका छन् । मटर खेती विशेष कुनै सीजनमा उत्पादन हुन्छ भन्ने पनि छैन । यसलाई गर्न जाने सबै सीजनमा उत्पादन गर्न सकिन्छ । बर्खा याममा समेत टनेललगाएर यसको खेती गर्ने हो भने मनग्ये आम्दानी हुन्छ । साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर मसान्तसम्म बजार पुर्याउन सकिन्छ ।
कात्तिक मंसिरमा रोपिएको मटर चैत बैशाखमा उत्पादन हुन्छ । साउनमा रोपिएको मटरमा बढी मात्रामा रोग लाग्ने भएकाले कमै मात्र किसानले सो सिजनमा मटर खेती गर्ने गरेका छन् । तर कात्तिकमा रोपिएको मटर खेतीबाट उत्पादन राम्रो हुने गरेपनि अहिले श्रम गर्ने शक्ति अभावले व्यवसायीक रोपण घट्दै गएको छ ।
इलाममा उत्पादन हुने मटर कोसाको मुख्य बजार सीमावर्ती भारतीय बजार नै हुन् । साथै झापाको बिर्तामोड, दमक हुँदै सुनसरी र विराटनगर लगायतका ठाउँमा समेत बिक्री हुने गरेको छ । इलाममा गत सात साढे पाँचसय मेट्रिक टन मटर कोसा उत्पादन भएको तथ्यांक छ । आगामी वर्ष यो उत्पादन समेत घट्ने किसान स्वयम बताउँछन् ।