Logo

निजी सवारी साधनले यात्रुसँग चर्को भाडा असुली

हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारी साधनले यात्रुसँग चर्को भाडा उठाएको पाइएको छ । रातो प्लेटको यातायातका साधनले सार्वजनिक यातायातले जस्तै भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामदेखि कुशे आउने अधिकांश सवारी साधनले लुट मच्चाइरहेको सरोकारवालाको गुनासो छ । जाजरकोटबाट काठमाडौं जानभन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र पुग्न लाग्ने गरेको छ ।

रातो प्लेट सञ्चालनमा रहेको निजी सवारी साधनले यात्रुहरूलाई राखेर जबरजस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले बताए । कुशे आउन र जानमात्र फलामको चिउरा चपाएझैँ हुने गरेको यात्रुहरूको भनाइ छ । स्थानीय प्रशासन र गाउँपालिकाले समेत यातायात सञ्चालकलाई नियन्त्रण गर्न नसकेको गुनासो गर्दै आएका छन् । पाँचजना अट्ने गाडीमा २० जना यात्रु राखेर गाडी चलाएको प्रहरीले देखे पनि नियन्त्रणतर्फ ध्यान नदिएको थापाले बताए ।

गाउँपालिकाको केन्द्र जोडने सरुगाडमा पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् । साविकको पैँक, ढिक, खुर्पा, समाइलालगायतका ठाउँलाई पालिकासँग जोडका लागि सरुगाड पार गर्नुपर्ने हुन्छ । पालिका भार्म सरुगाडभन्दा पारि छ । अर्छानी, टालेगाउँलगायतका ठाउँसमेत सरुगाडभन्दा पारिपट्टि छन् । हिउँद याममा खोलाको पानी कम भए पनि वर्षायाममा यो बाटोमा यातायातका साधन खोलाकै कारण ठप्प हुँदै आएका छन् ।

गाउँपालिका स्थापना भएको पहिलो कार्यकाल पूरा भएर दोस्रो कार्यकाल सुरु हुँदासम्म सडक र पुल निर्माणमा ध्यान नजाँदा सर्वसाधारणले हैरानी खेप्नु परेको छ । संघीय सरकारले समेत सबै पालिकाको मुकाममा पक्की सडक निर्माण गर्ने भाषण पटकपटक गरे पनि त्यो नारा गफमा मात्र सीमित भएको सर्वसाधारणहरू बताउँछन् । छेडाकुशे र खलंगा कुशे सडक स्तरोन्नतिमा ध्यान नदिए वर्षेनी यहाँका नागरिकले दु:ख पाउने क्रम नरोकिने सर्वसाधारणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्