Logo

भेरी करिडोरको विस्तृत अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासिक्याप सडक खण्डको काममा गुणस्तर तथा अध्ययनका लागि सडक डिभिजनको टोली अध्ययनमा खटिएको छ । निर्माणधीन सडकमा हुनसक्ने कमीकम्जोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आसुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा उपल्लो डोल्पा पुगेको हो । ११८ किलोमिटर जाजरकोटबाट दुनैसम्मको सडक भेरी करिडोरभित्र पर्दछ ।

मोरिम्ला नाकादेखि धोसम्म ६५ किलोमिटर सडक रहेको छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्रयाक ओपनको काम भइसकेको छ । दुनै–ल्यासिक्याप २० किलोमिटर सडक रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासिक्याप सडक खण्डको निर्माणकार्य समेत सडक डिभिजन चौरजहारीमार्फत् नै भइरहेको छ । डिभिजनको टोलीले यो पटक १ सय ४८ किलोमिटर सडकको अध्ययन गरेको प्रमुख कर्णले जानकारी दिए ।

दुनै लासिक्याप सडक खण्डमा कामको सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुग्नु अर्को उद्देश्य रहेको थियो । २०७८ चैतमा सूर्या–श्रेया–शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ ।

दुनै–ल्यासिक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ । अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नति (पिच) का लागि ठेक्का भई यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडकसमेत हो । कर्णाली प्रदेश हुँदै लुम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाकासमेत जोड्ने पर्दछ । भेरी करिडोर निर्माण भएमा भारतको रुपैडियाबाट चीनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ ।

जाजरकोटदेखि दुनैसम्म नेपाली सेनाले अस्थायी ट्रयाक सडक निर्माण गरेको हो । अहिले स्तरोन्नतिको काम सडक डिभिजन चौरजहारीले गरिरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमनको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोष कर्णले बताए । चौरजहारीबाट दुनैसम्म कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगति हेर्न लागेको हो ।

त्यस्तै भेरी करिडोरमा निर्माणधीन सडकको समेत अनुगमन गरिएको छ । सर्वाधिक समस्यको रूपमा रहेको दुनैदेखि लासिक्यापसम्मको सडक निर्माणमा समस्य हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुने गर्दछ । वर्षायाममा सडक खन्नका लागि निर्माण सामग्रीदेखि डोजर, स्काभेटर लिन समस्य हुने गर्दछ । हिउँदयाममा उपल्लो डोल्पाका अधिकांश सर्वसाधारण गाउँ छोड्ने र तातोको खोजीमा बेंसी झर्ने चलन रहँदै आएको छ ।

विकास निर्माणमा खेलाची गरेको भन्दै काइके गाउँपालिकाले एक विज्ञप्ति निकाल्दै खबरदारीसमेत गरेको थियो । गाउँपालिकाका अध्यक्ष अंकद रानाले तत्काल काम नगर्ने भए ठाउँ खाली छोडनसमेत आग्रह गरेका थिए । उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा, खच्चडकै भरमा दैनिक काम हुँदै आएका छन् । सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौँरीबाट नै खाद्यान्नदेखि निर्माण सामग्री लिने गरिन्छ ।

२५ पुल निर्माण गर्न बाँकी

भेरी करिडोर निर्माण गर्नका लागि राज्यले अझै भारी लगानी गर्नुपर्ने डिभिजन प्रमुख आसुतोष कर्णको भनाइ छ । जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्ममात्र नयाँ २५ पुल निर्माण गर्नुपर्ने उनले बताए । अहिलेसम्म सडकको मात्र लागत आएको तर पुलको लागत नआएका कारण खर्च धेरै बढ्न सक्ने बताएको छ । जाजरकोटबाट उपल्लो डोल्पाको धो सम्मा १४८ किलोमिटर यात्रा गरेर स्थलगत रुपमा अध्ययन गरेको उनको भनाइ छ ।

जाजरकोट सदरमुकाम, दुनै लासिक्याप सिस्यौल र धोसम्मको सडकको विस्तृत योजनासमेत बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रेको ठेक्का भइसकेको छ । तल्लुबाट दुनैसम्म पिच गर्नका लागि पत्र आएको र अर्थको सहमति आउने बित्तिकै ठेक्का लाग्ने उनको भनाइ छ । अहिलेको स्थलगत अनुगमन त्यही कालोपत्रे गर्नका लागि अध्ययनको कामसमेत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्