‘कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ’

इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।
आइएसपानका अध्यक्ष सुधीर पराजुलीले भने विद्युत प्राधिकरणले एकाधिकार तरिकाले पोलको भाडा बढाएको बताए । उनले ६ सय प्रतिशतसम्मको भाडा वृद्धिले व्यवसायमा प्रतिकुल प्रभाव परेको भन्दै इन्टरनेट हड्ताल गर्न पनि पछि नपर्ने सम्मको चेतावनी दिए । “इन्टरनेट बन्द हुँदा यसबाट पर्न सक्ने क्षतिको भागिदार प्राधिकरण नै हुनुपर्छ” अध्यक्ष पराजुलीले भने, “हामीले प्राधिकरणलाई व्यवसायको तालाचावी बुझाउनुपर्ने अवस्था आइसकेको छ ।”
विद्युत प्राधिकरणले काठमाडौं, विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटेको आइएसपानका अध्यक्ष पराजुलीले दाबी गरेका छन् । यसै विषयमा प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईसँग कारोबार दैनिकले गरेको कुराकानीमा भाडादर वृद्धि सरकारकै निर्णय भएको र यसमा प्राधिकरण आफूले मात्रै निर्णय नगरेको बताए ।
“उर्जा तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत प्राधिकरण सबैको उपस्थितिमा गठित कार्यदलले बुझाएको प्रतिविदेन बमोजिम भाडा बढेको हो” उनले भने, “कतिपय आईएसपीहरुले कम्पनी स्थापना गरेदेखि अहिलेसम्म पनि पोलको शुल्क बुझाएका छैनन्, राज्यको संरचना प्रयोग गरेपछि सम्बन्धित ऐन कानुनमा आउनुपर्ने सबै व्यवयासीको दायित्व हो ।” संरचना प्रयोग गरेपछि त्यसको भाडा तिर्ने बेला सेवा बन्द गर्छौं भनेर आम उपभोक्तालाई त्रसित पार्नु के जायज हो त ? उनले प्रश्न गर्दै भने, “आइएसपीले इन्टनेट सेवाको पैसा उपभोक्ताबाट लिने तर संरचनाको भाडा तिर्नुपर्छ भन्ने बुझ्नु नपर्ने कहाँको नियम हो ?”
यता आइएस्पानका अध्यक्ष पराजुलली भने प्राधिकरणले कुनै समन्वयन नै नगरी इन्टरनेट फाइबर तार देसभर काटिएको भन्दै यसमा प्राधिकरणको दादागरी भएको बताएका छन् । प्राधिकरणले भाडाकै निुहँमा पटक-पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।
इन्टरनेट सेवा प्रदायकहरुले बिजुलीको पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् । त्यसबापत विद्युत प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरेका छन् । तर प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढ्दो छ । प्राधिकरणले पोल भाडा बढाएको छ भने इन्टरनेट सेवा प्रदायकले समयमा बक्यौता नतिरेको भन्दै लाइन काटिदिने चेतावनी दिँदै आएको छ । यसबाट वार्षिक रुपमा शुल्क तिरेर सेवा लिएका इन्टरनेट उपभोक्तालाई सेवाको विश्वसनियता माथि शंका बढाएको छ ।