Logo

भृकुटीमण्डपमा २३ देखि २७ भदौसम्म फर्निचर एक्स्पो

२३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा फर्निचर एक्सपो आयोजना हुने भएको छ । स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएकोले फर्निचर एक्स्पो गर्न लागिएको हो ।
नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताए ।
वर्षेनि झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको संघका अध्यक्ष जोशीले बताए । फर्निचर तथा फर्निसिङका उत्पादकहरुले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई एकै स्थानमा जानकारी दिन एक्स्पो आयोजना गरिएको जोशीको भनाइ छ । एक्स्पोका संयोजक ओम बस्नेतले राज्यस्तरबाट त्यसमा पहलकदमी नलिएको अवस्थामा एक्स्पोले राज्यको ध्यान तान्ने अपेक्षा रहेको बताए ।
यस पटकको एक्स्पोलाई स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना भएको एक्स्पोलाई स्वदेशी ब्राण्डले नै प्रायोजन गरेको प्रेस्टिज कार्पेटका सञ्चालनक अनिल महेश्वरीले बताए ।
एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । इभेण्ट सोलु्सनका प्रबन्धनिर्देशक विजय सागर प्रधानले उदयीमान अवस्थामा पुगेको फर्निचरजन्य उत्पादनको बजार कोरोनाका कारण केही सुस्त भएको र एक्स्पोले त्यसलाई पुन: उचाई दिनेमा आफू विश्वस्त रहेको बताए । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहने छन् ।
भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका प्रदर्शक पनि एक्स्पोमा सहभागी हुनेछन् । पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैछन् । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्