मतदाता नामावली अद्यावधिक गर्न आग्रह

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामवली अद्यावधिक (दाबी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्वाचन मिति घोषणा भइसकेपछि बिगतदेखि संकलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक सम्वन्धी जानकारी गराइएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि मतदाताको बसाईसराइ, मृत्यु, दोहोरो नामावली भएकाले दाबी विरोधमार्फत सच्याउनका लागि आयोगले मतदातालाई आग्रह गरेको छ । आयोगले मतदातालाई भदौ १३ गतेदेखि १६ गतेसम्म दाबी विरोध गर्नका लागि समय दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरे बताए । सो समयमा प्रकाशित मतदाता नामावली हेरेर दाबी विरोधका लागि मतदाताले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, स्थानीय तहको केन्द्र र वडा कार्यालयमा निवेदन दिन पाउने ब्यवस्था रहेको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले मतदाता नामावालीको दाबी विरोध गराउने समयमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, पत्रकारलगायत सबैले सहयोग गर्न आग्रह गरे । जिल्ला न्याधिश कृष्णप्रसाद नेपालले निर्वाचनमा मतदान गर्ने अवसरलाई सदुपयोग गर्नका लागि मतदाताले भदौ १३ देखि १६ गतेसम्म प्रकाशन हुने मतदाता नामावालीमा दाबी विरोध गर्न आग्रह गरे ।
अन्तरक्रियामा नेपाली कांग्रेसका सचिव भरत रकालले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउन आयोगलाई आग्रह गरेका छन् । ‘मतदाताको नागरिकता नम्बर हान्दा व्यक्तिको मतदाता नामावली कहाँ–कहाँ छ भनेर थाहा पाउने प्रविधिको प्रयोगतर्र्फ निर्वाचन कार्यालयले सोच्न केन्द्रित गरे ।’
प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिका मेयर सुरज केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, नेकपा एमालेका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल लगायतको उपस्थित रहेकोे थियो ।