Logo

सहकारीले वचत फिर्ता नगर्दा सडक आन्दोलन

सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएपछि वचतकर्ताको विचल्ली भएको छ ।
४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत रकम सहकारीबाट फिर्ता नपाएको भन्दै सुनसरी वचतकर्ता आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए ।
आन्दोलित वचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रर्दशन समेत गरेका छन् । उनीहरुले भाण्टाबारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक ३०० बढी वचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् । पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका वचतकर्ताहरुले वचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।
सहकारी संस्थाका एजेन्टका रुपमा रहेका वचत संकलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट वचत संकलन गरी रकम जम्मा गरेपनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या आएको बताए । आफू बारम्बार वचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उनको भनाइ छ । साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको गुनासो गरे ।
यता सहकारी संस्थाका सञ्चालक समूहले भने वचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ । सञ्चालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा वचतकर्तासँग मतभेदको अवस्था श्रृजना हुँदा अवस्था असहज भएको बताए । उनले अडिट रिर्पोट प्राप्त हुनासाथ वचतकर्ताको रकम फिर्ता दिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्