Logo

पर्यटन विकासका समस्या

कोभिड–१९ को महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा यहाँ विदेशी पर्यटकहरूको आगमन २ प्रतिशतले बढेको थियो भने उनीहरूको औसत बसाइ अवधि १५.१ प्रतिशत पुगेको थियो । योबाहेक उनीहरूको प्रतिदिन खर्च विगतको तुलनामा केही वृद्धि भई ६५ अमेरिकी डलर पुगेको थियो ।
तर, कोभिड–१९ को चरणबद्ध महामारीपश्चात् सन् २०२० मा विदेशी पर्यटकहरूको आगमनमा झन्डै ८१ प्रतिशत कम भएको कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशित एक तथ्याङ्कले इङ्गित गरेको छ । उक्त अवधिमा हवाईमार्ग र स्थलमार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकहरूको संख्या २ लाख ३० हजारमा सीमित भयो । यसबाट यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव प¥यो ।
हाल कोरोना कमजोर हुँदै गए पनि नेपाल पर्यटन बोर्डले केही समयअघि सार्वजनिक गरेको एक आँकडाअनुसार यहाँको पर्यटन क्षेत्रले प्रतिदिन सरदर १० अर्बबराबरको क्षति बेहोर्नुपरेको थियो । यति मात्र नभई उक्त क्षेत्रमा संलग्न लगानीकर्ता तथा कामदारहरूको भविष्य अझसम्म सुनिश्चित बन्न सकेको छैन ।
आगामी दिनहरूमा कोरोनाको महामारी पूर्ण रूपले रोकिए पनि यसको प्रभावबाट पर्यटन क्षेत्रलाई उकास्न तीनदेखि पाँच वर्षसम्म लाग्न सक्ने कुरा सम्बन्धित विज्ञहरूले बताएका छन् । तसर्थ उक्त क्षेत्रको पुनरुत्थान गर्ने काम कम चुनौतीपूर्ण छैन ।
नेपाल सरकारले वर्षौंदेखि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आए पनि पर्यटकीय पूर्वाधारहरूको कमी, आर्थिक कूटनीतिको न्यून उपयोग, नयाँ सम्भावित क्षेत्रहरूको खोजी एवं विस्तार नहुनु र हार्डवेयरमा बढी ध्यान दिई सफ्टवेयर ओझेलमा पर्नाले उक्त क्षेत्रको विकासमा समस्याहरू देखा परेका छन् ।
नेपालमा पर्यटन विकासका धेरै सम्भावना भए पनि यसलाई ग्रामीण स्तरसम्म पु¥याउन नसक्नाले अपेक्षाअनुसारको फाइदा लिन सकिएको छैन । योबाहेक पर्यटन क्षेत्रलाई विविधीकरण गर्न नसक्दा धेरैजसो विदेशी पर्यटकहरू काठमाडौं, चितवन, पोखरा, लुम्बिनी र जनकपुरमा केन्द्रित छन् भने बाँकी पर्यटकीय स्थलहरू ओझेलमा परेका छन् ।
एकातिर यहाँ विदेशी पर्यटकहरूका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरूको संख्या एवं गुणस्तर दुवै कमजोर छन् भने अर्कातिर यहाँको प्रमुख गन्तव्यस्थल सुविधायुक्त यातायात प्रणालीले जोड्न सकिएको छैन । बेलाबेलामा गरिने बन्द, हड्ताल र कमजोर शान्तिसुरक्षाका कारण यहाँको पर्यटन विकासमा समस्या थपिएको छ ।
यहाँ बेलाबेलामा विदेशी पर्यटकहरू लुटिएका, कुटिएका र मारिएका घटनाहरू सञ्चारमाध्यमहरूमा प्रकाशमा आउँछन् । जबसम्म उनीहरूको सुरक्षाको प्रत्याभूति हुँदैन, तबसम्म उनीहरूको संख्या एवं बसाइ अवधि बढ्न सक्दैन र यो देशलाई खासै फाइदा हुँदैन । आगामी दिनहरूमा यस सम्बन्धमा सुधार नभएमा विकराल समस्याको रूपमा देखा पर्नेछ ।
नेपालमा भरपर्दो सूचना प्रवद्र्धन केन्द्रहरूको कमीका कारण यहाँका कला, संस्कृति एवं प्राकृतिक दृश्यहरूका बारेमा राम्ररी प्रचार–प्रसार गर्न सकिएको छैन । त्यसैले यहाँको पर्यटन उद्योगमा सोचेअनुरूप विकास गर्न सकिएको छैन ।
वस्तुतः यहाँको मौलिक संस्कृतिको प्रचार–प्रसार एवं प्रवद्र्धनको तुलनामा विदेशी छाडापन र खुलापनको नक्कलले यहाँका सामाजिक तथा सांस्कृतिक विकृतिहरू बढिरहेका
छन् । सोबाहेक यहाँ पर्यटकहरूका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरूको संख्या एवं गुणस्तर कम छ, जसले यहाँको पर्यटन विकासमा समस्याहरू थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्