घोराहीले किन्यो २० हजारको फोहोर

घोराही उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहोर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७/०७८ बाट फोहोर खरिद सुरु गरेको हो ।
यसरी सुरु गरिएको फोहोर खरिद गर्ने कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहोर खरिद गरिएको घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा चार लाख बजेट विनियोजन गरेको थियो । बजेट भए पनि सबै रकमको फोहोर खरिद गर्न नसकिएको उनको भनाइ छ । नगरपालिकाले मात्र नभई अन्य कवाडी व्यवसायीले पनि खरिद गर्ने भएकाले थोरैको मात्र खरिद भएको उनले बताए । उपमहानगरपालिकाले फोहोर किन्ने भने पनि नगरका सबै स्थानसम्म फोहोर किन्नका लागि नगरपालिका पुग्न सकेको छैन । फोहोर खरिदका लागि गाउँगाउँसम्म पुग्नका लागि आवश्यक पर्ने कर्मचारी, सवारीसाधन तथा फोहोर राख्ने ठाउँको समस्या रहेको अधिकारी बताउँछन् । “नगरलाई सरसफाइ राख्न तथा ल्याण्डफिल साइटमा फोहोर कम गराउन यस प्रकारको कार्यक्रम अघि बढाएको हो,” अधिकारीले भने । अहिले नागरिकले फोहोरबाट मोहर बनाउन थालेको उनले बताए ।
फोहोरलाई मोहर बनाउने अभियानअन्तर्गत फोहोर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले प्लास्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी पाँच रुपैयाँ, सूर्तिजन्य प्लास्टिकको फोहोर प्रतिकेजी दुई रुपैयाँ, गत्ता, कार्पीसहित वर्गीकरणअनुसारका फोहोरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरिएको छ । यसरी खरिद गरिएको गल्ने फोहोरलाई ल्याण्डफिल साइटमा रहेको बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोलाई उद्योगसँंग समन्वय गरेर बिक्री गरिने बताइएको छ । नगल्ने फोहोरहरू विशेषगरी प्लास्टिक र सिसाका वस्तुहरू उद्योगमा पठाइने छ । तर नागरिकबाट खरिद गरिएको फोहोर बिक्री गर्न सकिएको छैन । बिक्री नभएपछि अहिले ल्याण्डफिल साइटमा नै फोहोर राखिएको छ । “आफूले गरेको फोहोर आफै व्यवस्थापनका लागि यस अभियानले सहयोग पु¥याउने छ,” उनले भने ।
फोहोर नगरपालिकाले खरिद गरिदिने भए पनि नगरबासीहरूले जताततै फोहोर नफाल्ने नगपालिकाको अपेक्षा छ । “फोहोर पनि बिक्री गरेर पैसा आउने भएपछि जताजतै फोहोर हुने छैन,” शाखा प्रमुख अधिकारीले भने । सवारीका साधनले गाडीबाट फोहोर फाल्न नदिएर निश्चित स्थानमा फोहोर जम्मा गरेर नगरपालिकालाई बिक्री गर्ने सक्नेछन् । जताजतै फोहोर नभए पछि वातावरणसमेत सुन्दर तथा सफा हुने उपमहानगरपालिकाको अपेक्षा छ । सफा सहर निर्माण भएमा पर्यटकीय क्षेत्रको रूपमा समेत विकास हुनेछ । नाला तथा सडकमा फालेको फोहोर खेतबारीसम्म पुग्ने छैन । जसले गर्दा उत्पादनमा समेत वृद्धि हुने उनले बताए । फोहोर जलाएर हुने वायु प्रदूषणसमेत कम हुनेछ । उपमहानगरले फोहोर खरिद गरिदिए पछि फोर व्यववस्थापमा समेत सहयोग मिल्ने अपेक्षा लिएको छ भने नगरबासीले आफैले फोहोर व्यवस्थापन गरेमा सरसफाइका लागि तिर्दै आएको शुल्क पनि घटने उपमहानगरपालिकाको भनाइ छ ।
दैनिकरूपमा फोहोर उठाउन जानु परेन भने सरसफाइ शुल्क पनि कम हुने बताइएको छ । यसले नगरबासीलाई थोरै भए पनि सहयोग पुग्ने छ । दैनिक फोहोर उठाउन गाडी पठाई दिनुस् भनेर खबर गर्नुभन्दा फोहोर छुट्ट्याएर फोहोर खरिद गर्न आउनु भन्नसकेमा यसले नागरिक र नगरपालिका दुवैलाई फाइदा पुग्ने शाखा प्रमुख अधिकारीको भनाइ छ । नगरपालिकाले थालेको यस प्रकारको योजना सफल बनाउन नगरबासीको सहयोग आवश्यक पर्ने उपमहानगरपालिकाले जनाएको छ । नागरिकको सहयोग नभएमा यस प्रकारको अभियान सफल हुन नसक्ने अधिकारी बताए ।
फोहोर खरिद गर्न निजी क्षेत्रलाई दिने तयारी
घोराही उपमहानगरपालिकाले आफैले खरिदै गर्दै आएको फोहोर निजी क्षेत्रलाई दिने तयारी गरेको छ । आउँदो आर्थिक वर्षबाट निजी क्षेत्रलाई दिने तयारी गरिएको घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । नगरपालिकाको मातहतमा राखेर फोहोर खरिद गर्नका लागि निजी क्षेत्रलाई दिनका लागि ठेक्का आह्वान गरिने उनले बताए । निजी क्षेत्रलाई जिम्मा दिएपछि फोहोर खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ । “व्यापार व्यवसाय गर्ने निकाय नभएकाले केही समस्या छ,” उनले भने । फोहोर खरिदका लागि आवश्यक मात्रामा कर्मचारी र सवारीसाधन नहुनु तथा बिक्री गर्नसमेत समस्या हुने गरेको उनले बताए । यसले नगरपालिकालाई समेत सहजता हुने अपेक्षा गरिएको छ । कार्यक्रमसमेत प्रभावकारी हुने नगरपालिकाको भनाइ छ ।