Logo

तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाइन काटियो

दाङ-नेपाल विद्युत प्राधिकरणले स्थानीय सरकारको लाइन काटिदिएको छ । तुलसीपुर उपमहानगरपालिकाको विद्युतलाइन नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाले मंगलबार काटिदिएको हो । विद्युतलाइन काटिदिएपछि उप महानगरपालिका दिनभर सेवा प्रभावित भएको थियो । यसले नागरिकहरु समस्या भोग्नु परेको थियो । उप महानगरपालिकाले बुझाउनु पर्ने बक्यौता रकम समय मै नबुझाएका कारण मंगलबार बिहानैदेखि विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले उपमहानगरको विद्युत लाइन काटिदिएको हो । आफू अफिस आउनुभन्दा पहिले नै विद्युत काटिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिए । त्यसलगतै आफूले फोनमार्फत विद्युत प्राधिकरणका प्रमुखलाई जानकारी दिए पनि कुनै सुनाइ नभएको उनले बताए । स्थानीय सरकारको लाइन काटने काम राम्रो नभएको उनको भनाइ रहेको छ । “सरकारी अफिसको लाइन नभनेर काटिनु राम्रो होइन,” उनले भने । काटिएको विद्युत बेलुकासम्म पनि लाइन जडान हुन नसकेको उप महानगरपालिकाले जानकारी दिएको छ । “प्राधिकरणले सूचनासमेत नदिएर विद्युत लाइन काटेको छ,” प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने । सडक बत्तीको रकम तिर्नका लागि पत्र पठाएको उनले बताए । सडक वत्तीका रकम नीतिगत समस्या भएको उनी बताउँछन् । कार्यपालिकाको बैठकमा समेत यस विषयमा छलफल भएको समेत उनको बताए ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले चार महिनाको विद्युत महसुल झन्डै डेढ लाख बुझाउन पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गरेका कारण बाध्य भएर विद्युत लाइन काट्नु परेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्