कम्मरमुनीको भाग नचल्ने रोगबाट एकै परिवारका ४ जना पीडित

खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका–६ नेर्पामा कम्मरमुनिको अंग नचल्ने समस्याले एकै घरका चार सन्तान पीडित भएका छन् ।
सुरुमा हिँड्नेक्रममा खुट्टा लरखरिने, लाठ्ठिएर ढल्ने, भनेको बेला खुट्टा नलाग्ने जस्ता समस्या देखिने र क्रमशः कम्मरमुनिको पूरै अंग नचल्ने समस्याले स्थानीय बाबुवीरबहादुर गजमेर र आमा लक्ष्मीमाया गजमेरकी माइली छोरी ३० वर्षीय कोपिला, थाइँली छोरी २२ वर्षीया अनिशा, ठूली कान्छी छोरी २० वर्षीया मनीषा र कान्छो छोरा १५ वर्षीया चेतराज गजमेर थलिएका हुन् । बाल्यकाल सपांग नै बिताएका छोराछोरीमा पछिबाट क्रमशः समस्या देखिएको आमा लक्ष्मीमायाले बताइन् ।
बाल्यकाल सपांग बिताएका कोपिला, अनिशा र मनीषा अहिले ‘खाउँ–खाउँ र लाउँ–लाउँ’ को उमेरमा घरभित्र बाहिर गर्न पनि डो-याउनुपर्ने अवस्थामा पुगेकी छन् । तीन छोरीलाई आमा लक्ष्मीमायाले डो-याएर शौचालय लैजाने र ल्याउने गर्छिन् ।
अनौठो किसिमको शारीरिक समस्याले पीडित भएका चार जनामध्ये कोपिलालाई एक्लै उठ बस गर्नसमेत समस्या छ । शारीरिक समस्याका बीचमा अनिशाले लरखरिँदै २०७२ सालमा एसईई उत्तीर्ण गरेकी छन् ।
कम्मरमुनिको भाग नचल्ने समस्या बल्झिँदै गएपछि मनीषाले पनि कक्षा १० पूरा गर्न पाइनन् । मनीषालाई २ वर्ष अघिदेखि खुट्टा लरबरिने समस्या देखिन थालेको हो । कान्छो चेतराज हालसम्म आफै हिँडडुल गर्न सके पनि खुट्टा लरखररिएर लड्ने समस्या देखिन थालेको छ ।
गजमेर दम्पत्तीका १३ सन्तानमध्ये छोरीतर्फ जेठी संगीता र कान्छी उषा तथा छोरातर्फ जेठो राजेन्द्र्र, माइला इन्द्रकुमार र साइलो कृष्णमात्र सपांग छन् । सुरुमा माइली छोरी कोपिलाबाट सुरु भएको कम्मरमुनिको भाग नचल्ने समस्या अन्य सन्तानमा देखिन थालेको हो । आर्थिक समस्यका कारण हालसम्म शारीरिक रूपमा अशक्त बनेका छोराछोरीलाई उपचारमा लैजान नसकेको बाबु वीरबहादुरले बताए ।
गजमेर परिवारमा चारजना छोराछोरीको मृत्यु भइसकेको छ । साइली शर्मिलाको २२ वर्षमा सुगरका कारण र काइली उषाको गत वर्षको माघ १३ गते २५ वर्षको उमेरमा कम्मरमुनिको अंग नचल्ने रोगका कारण मृत्यु भयो । सो परिवारमा यस्तो समस्या माइली छोरी कोपिलाबाट सुरुवात भएको हो ।