राष्ट्रपति भवनबाट सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी छन् ।
बिहीबार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी हुन् । बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२औँ राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित बिहीबारदेखि सुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।
राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको पनि विवरण संकलन गरेको छ ।
बिहीबार राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उनीसहित परिवारको विवरण संकलन गरेको हो । ‘नेपालको राष्ट्रिय जनगणना २०७८’ बिहीवारबाट औपचारिक रुपमा सुरु भएसँगै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण संकलन गरेको हो । बिहीबारबाट देशभर सुरु भएको १२औँ जनगणनामा ८० वटा प्रश्न समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना सुरु गरेका छन् ।