Logo

पुल निर्माण भएपछि स्थानीयवासी हर्षित

डडेल्धुरा-डडेल्धुरा नवदुर्गा गाउँपालिकाको धनगाडमा मोटरेबल पुल निर्माण भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । जिल्ला सदरमुकामसँग गाउँपालिकालाई जोड्ने धनगाड रुपालीगाडमा मोटरेबल पुल निर्माण हुँदा आवतजावतका लागि सहज भएको भन्दै नवदुर्गा गाउँपालिकाका स्थानीय बासिन्दा खुसी भएका हुन् ।
जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाको वडा नम्बर १ कोटेली गाउँको सिमानामा रहेको धनगाडमा मोटरेबल पुल निर्माण भएको छ । खोलामा मोटरेबल पुल निर्माणसँगै अब गाउँपालिकामा बाह्रै महिना यातायात सञ्चालनका लागि सहज हुनुका साथै वर्षात्को समयमा आवतजावत गर्न पनि सहज भएको स्थानीय बासिन्दा भोजबहादुर साउदले बताए । वर्षौंदेखि धनगाडमा पुल नहुँदा वर्षात्को समयमा जोखिम मोलेर खोला तर्नु पर्दथ्यो साउदले भने अब वर्षात्को समयमा पनि सहजै रूपमा जिल्ला सदरमुकामसहित देशका अन्य भागमा जानसक्छौं ।
जिल्ला सदरमुकाम आउनका लागि गाउँपालिकाको सहज र छोटो मार्गमा निर्माण भएको यस पुलका कारण नवदुर्गा गाउँपालिकामा उत्पादन हुने कृषिजन्य वस्तु बजारसम्म पुर्याउन र वर्षात्को समयमा दैनिक उपभोग्यसहित अन्य आवश्यीकय वस्तु पनि गाउँपालिकासम्म पुर्याउन सहज भएको स्थानीय बासिन्दा शेरबहादुर साउदले बताए । धनगडा रुपालीगाड कोटेली पुल डिभिजन सडक कार्यालय कुलपाते डोटीको २ करोड ३३ लाखमा निर्माण भएको उक्त पुलको लम्बाइ १८ मिटर छ भने चौडाइ १० मिटर छ । सम्झौता भएको मितिले दुई वर्षमा पुल निर्माण गरिसक्नुपर्ने भए पनि एक वर्ष ढिलो गरी पुल निर्माणकार्य सम्पन्न भएको हो । केएस निर्माण सेवाले पुल निर्माण गरेको हो । पुल निर्माण भएसँगै नवदुर्गा गाउँपालिकाका पाँचवटै वडाका स्थानीय बासिन्दालाई जिल्ला सदरमुकामसम्म जानका लागि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्