Logo

खोप माग्दै इन्धन ढुवानी अवरुद्ध

कोरोना भाइरस विरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि बागमती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा संघको बागमती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतबारदेखि रोकिएको हो । खोप नलगाइदिएको भन्दै चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ ।
संघका अध्यक्ष ईश्वर लामाद्वारा जारी विज्ञप्तिमा कोरोना महामारीका कारण चालक तथा तिनका परिवारको ज्यानै जाने अवस्था आउँदा पनि डिपोले खोपको व्यवस्था नगरेका कारण आन्दोलन गरिएको उल्लेख गरिएको छ । “अमलेखगञ्जमा एक जना चालकको ज्यान गयो, कयौं साथीहरु अझै गम्भीर संक्रमण भएर बसेका छन्, हाम्रो सुरक्षामा उदासीनता देखाइएकाले बाध्य भएर इन्धन ढुवानी रोकेका छौं ।” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमको बागमती प्रदेश कार्यालय डिपो थानकोटका डिपो प्रमुख अभिषेक ठाकुरले आइतबार बिहानदेखि पम्पमा हुने तेलको ढुवानी रोकिएको जानकारी दिए । प्रादेशिक डिपो मातहतका झण्डै पाँच सय ट्यांकरमध्ये निषेधाज्ञाको समयमा दैनिक १२० ट्यांकर पालो गरेर सञ्चालन भइरहेका थिए ।
संघले ट्यांकर चालकलाई खोपको व्यवस्था गरिदिन डिपोमामा गरेको आग्रह निगमको मुख्य कार्यालय र स्वास्थ्य मन्त्रालयमा पठाएपनि खोप उपलब्ध हुन नसकेको उनले जानकारी दिए । निगमका प्रवक्ता वीनितमणि उपाध्ययले खोप लगाउनका लागि पहल गरेपनि सरकारसँग खोप नभएकाले उपलब्ध हुन नसकेको जानकारी दिए । निगमसँग पर्याप्त मात्रामा इन्धन मोैज्दात रहेकाले अभाव नहुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्