बेतिनी भन्ज्याङ ओझेलमा

उदयपुर-झट्ट हेर्दा पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारजस्तै लाग्ने, घन्टैपिच्छे मौसम परिवर्तन भइरहने र हिमाल, पहाड र तराईका सुन्दर दृश्य अवलोकन गर्न सकिने उदयपुरको कटारी नगरपालिका–११ स्थित बेतिनी भन्ज्याङ क्षेत्र ओझेलमा परेको छ ।
नेपालकै प्रसिद्ध पर्यटकीयस्थल भेडेटार बराबरकै उचाइ र समान मौसमी अवस्था हुँदाहुँदै पनि सरोकारवाला निकायले वास्ता नगर्दा यो क्षेत्र ओझेलमा परेको हो । एकैछिनमा घाम लाग्ने, कुहिरो आउने र पानी पर्ने बेतिनी भन्ज्याङको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नेतर्फ अहिलेसम्म कसैले चासो नदिएको स्थानीयको भनाइ छ । यहाँको बजार व्यवस्थापन गरेर पर्यटकलाई खान र बस्नका लागि व्यवस्थित होटेल र लजको व्यवस्था गर्न र प्रचारप्रसार गर्न सके बेतिनी भन्ज्याङ दोस्रो भेडेटारको रूपमा अगाडि बढ्न सक्ने उनीहरू बताउँछन् ।
“पर्यटकीय क्षेत्रको रूपमा विकास गरे प्रशस्त लाभ लिन सकिने यो क्षेत्रको विकास हुन सकेको छैन,” कटारी बजारका रामकुमार राईले भने, “पर्यटकीयस्थलको रूपमा विकास गरेर प्रशस्त लाभ लिन सकिने यो क्षेत्र हरेक हिसाबबाट महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।” भेडेटार जत्तिकै सुन्दर, मनमोहक र रमणीय भएर पनि ओझेलमा परिरहनु कटारी क्षेत्रकै दुर्भाग्य भएको राईको भनाइ छ ।
“एकैछिनमा घाम लाग्ने, एकैछिनमा कुहिरोसँगै पानी पर्ने बेतिनी भन्ज्याङ पर्यावरणीय हिसाबले समेत महत्वपूर्ण छ,” स्थानीय अवि लामिछानेले भने, “तर, यहाँ अनुसन्धान गर्न कोही आएका छैनन् ।” बेतिनीलाई पर्यटकीयस्थलको रूपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नेतर्फ अहिलेसम्म कसैले चासो नदिएको उनको गुनासो छ ।
पूर्व क्षेत्रकै पुरानो व्यापारिक बजार कटारीदेखि सिद्धिचरण राजमार्ग हुँदै पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेवस्थान मन्दिरको दर्शन गर्न बर्सेनि हजारौं सर्वसाधारण बेतिनीकै बाटो हुँदै आवतजावत गर्छन् । कटारी बजारबाट २२ किलोमिटर उत्तर सिद्धिचरण राजमार्गमै पर्ने बेतिनीमा एकछिन नरोकिने र अवलोकन नगर्ने यात्रु कमै हुन्छन् । तर, होटेल तथा लज र अन्य पूर्वाधार अभावमा चाहेर पनि उनीहरूले बास बस्न सक्दैनन् ।
“बेतिनीबाट सगरमाथा लगायतका हिमाल र नेपाल तथा भारतका तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ,” कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढाथोकी भन्छन्, “यो भेडेटारजस्तै पूर्वकै महत्वपूर्ण पर्यटकीयस्थल हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि वडामा आउने बजेटबाट पूर्वाधार तयार गर्न नसकेको अवस्था छ ।” नगरपालिकाबाट वडामा आएको बजेटले भ्यूटावर निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको नेपालका पर्यटकीय क्षेत्रहरूको सूचीमा बेतिनीको नाम समावेश गरिएको छैन । हरेक दृष्टिकोणबाट महत्वपूर्ण भएर पनि पर्यटकीय क्षेत्रको सूचीमा नपर्नु यस क्षेत्रकै दुर्भाग्य भएको स्थानीयको गुनासो छ ।
कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ नगरपालिकाले बेतिनीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नगरपालिकाले बृहत् गुरुयोजना निर्माणको तयारी गरेको बताउँछन् । “पर्यटकीय क्षेत्रको सूचीमा परेको भए विकासका लागि अन्य सरोकारवाला निकायको पनि सहयोग हुन्थ्यो,” उनी भन्छन्, “तर त्यो हुन नसकेपछि स्थानीय निकायबाटै यसको पूर्वाधार विकासमा लगानी गर्ने मनस्थिति बनाएका छांै ।” योसँगै लगानीका लागि अन्य निकायको समेत खोजी गरिने श्रेष्ठ बताउँछन् ।
पछिल्लो समय केन्द्रीय सरकार र प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचान र विकास गरी पर्यटन प्रवद्र्धनका माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र गरिबी घटाउने नीतिलाई प्राथमिकतामा राखेका छन् । तर नीति र कार्यान्वयन नमिल्दा बेतिनीजस्ता महत्वपूर्ण स्थान ओझेलमा परिरहेका छन् ।
“मुलुकको विकास र सर्वसाधारणको आर्थिक समृद्धिका लागि पर्यटन नै मूल आधार हो,” उदयपुर जिल्लाका पर्यटकीय क्षेत्रको अध्ययन गरिरहेका जिल्लाका वरिष्ठ सञ्चारकर्मी कौशल चेमजोङले भने, “केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैको साझेदारी भएमात्रै यस्ता क्षेत्रको चाँडो विकास गर्न सकिन्छ ।” तर, सरोकारवाला निकायले बेवास्ता गर्दा यस्ता महत्वपूर्ण क्षेत्र वर्षौंदेखि ओझेलमा परिरहेको उनको भनाइ छ ।