तरकारीमा आत्मनिर्भर बन्दै भित्रि मधेस

डडेल्धुराको आधा जनसंख्या रहेको भित्रि मधेस क्षेत्रका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी खेतीमा स्थानीय जैविक विषादीप्रति समेत किसानको आकर्षण बढ्दै गएको छ ।
अलिताल गाउँपालिका तथा परशुराम नगरपालिकाका स्थानीयले विभिन्न कृषक समूह बनाई बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । आलिताल–४ घरेलुमा मात्रै २२ जना महिला किसानले समूह गठन गरी नियमित तरकारी खेती गर्दै आएका छन् । महिला किसानले उच्च मूल्यका तरकारी काउली, बन्दा, गोलभेंडा, धनियाँ, प्याज, लसुन, आलु, केराउ, भान्टा, लौका, करेलाको खेती गर्दै आएका छन् ।
बजारमा विषादीसहितको तरकारी खानुपर्ने तथा चाहेअनुसारको तरकारीको अभाव हुने भएकाले आफूहरूले समूह गठन गरेर एकीकृत शत्रु जीव व्यवस्थापन (आई.पी.एम) प्रविधिको तरकारी उत्पादन थालेको कैलपाल ताजा तरकारी उत्पादन समूहकी अध्यक्ष कोकिला मडैले बताइन् । आफूहरूले समूह गठन गरी तरकारी उत्पादनमा लागेपछि ताजा तरकारीको उपभोग गर्न पाएको तथा बाँकी रहेको तरकारी बजारमा बिक्री गरी धरधन्दा चलाउन सजिलो भएको समूहकी सचिव निर्मला बोहराले बताइन् । “हामी समूहमा २२ धरधुरीका महिला छौं, प्रतिघर एक प्लास्टिक घर निर्माण गरि गोलभेडा खेती गरिरहेका छौं,” उनले भनिन्, “बाँकी २ देखि ३ रोपनी जमिनमा अन्य तरकारी लगाएका छौं ।” गोलभेडा उत्पादनबाट औसत बार्षिक डेढ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको अगुवा किसान गोपालसिंह मडैले बताए ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट प्राविधिक ज्ञान पाएका अगुवा किसान मडैले यस क्षेत्रका विभिन्न कृषि समूह र किसानको बारीमा प्राविधिक सहयोग गर्दै आएका छन् । उनले विभिन्न रोग तथा किराको जैविक बिषादीमार्फत उपचार गर्ने गरेका छन् । आलिताल–४ को घरेलु गाउँमा खानेपानी तथा सिँचाइको समस्या भएपछि वडा कार्यालयमा समूहबाट निर्णय गरी बहुउद्देश्यीय खानेपानी तथा सिँचाइको माग गरेका छन् । कृषि स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन कार्यक्रम (पहल) अनुकूलन तथा वडा कार्यालयको अर्थिक तथा प्राविधिक सहयोगमा ८ लाख ७३ हजार ९ सय ७० बराबरको योजना निर्माणाधीन अवस्थामा रहेको गोकुल खोला बहुउद्देश्यीय खानेपानी तथा सिँचाइ योजनाका अध्यक्ष अर्जुनसिंह मडैले बताए ।
योजना सम्पन्न भपछि यस क्षेत्रका २२ घरधुरी, ४ नं. वडा कार्यालय एवं कृष्ण कालीका मावि भीमनगर घरेलुका स्थानीयले शुद्ध खानेपानी तथा सिँचाइ सुविधा पाउने आलिताल गाउँपालिका–४ का अध्यक्ष चन्द्रदेव बोहराले बताए । समूहमा एक जना अगुवा किसान छनोट गरी एकीकृत शत्रु जीव व्यवस्थापन (आईपीएम) प्रविधिको प्रदर्शनी पनि गरिएको छ । अगुवा किसान गोपालसिंह मडैको करिव ५ रोपनी जमिनमा ३ वर्ष यता विभिन्न जातका तरकारी खेती गरिँदै आएको किसान अर्जुनसिंह मडैले बताए ।
रोग र किरा नियन्त्रण गर्न आईपीएम प्रविधिअन्तर्गत खाडल पासो, सावुन पानीको प्रयोग, वत्तीपासो, सोली पासो, डेल्टा पासो, पहेलो च्यापच्यापे पासो, फेरोमन पासो, झोलमोल, वनस्पती मल तथा विषादीको प्रयोग गरिएको छ । आलिताल गाउँपालिका मह उत्पादनको समेत पकेट क्षेत्र हो । यो क्षेत्रलाई विषादीरहीत बनाउनुपर्ने भएकाले जैविक बिषादीको महत्व रहेको अलिताल गाउँपालिका–४ का अध्यक्ष बोहरा बताउँछन् ।
आलिताल गाउँपालिकालगायत पशुराम नगरपालिकाका करिव ४० समूहमा तरकारी खेती हुँदै आएको भए पनि करिव ४ वटा समूहमा व्यावसायिक अग्र्यानिक तरकारी खेतीको सुरुवात भएको छ । उत्पादित तरकारी संकलन केन्द्रमार्फत स्थानीय बजार जोगबुढा, गोदाम, घरेलु, बुडरसम्म जाने गरेको पशुराम–१२ खजुरेनीका अगुवा किसान मनिसिंह बोहराले बताए । किसानले गरेको सामूहिक तरकारी खेतीलाई आलिताल गाउँपालिका र पशुराम नगरपालिकाले प्रोत्साहन गर्दै आएका छन् । किसानलाई आर्थिक एवं प्राविधिक सहयोग यूएसआईडीको पहल कार्यक्रले गर्दै आएको परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बताए ।