लिफ्टबाट सिँचाइ सुविधा

जुम्ला-सिँचाइको अभावले कर्णालीमा हजारौँ हेक्टर खेतीयोग्य जमिन बाँझै छ । मार्सीधान उत्पादन हुने खेतहरूमा पनि सिँचाइ सुविधा नभएका कारण बाँझिदै गएका छन् । सरकारी तथ्यांकअनुसार कर्णालीमा करिब ८२ हजार हेक्टर जमिन अहिले पनि सिँचाइ अभावमा बाँझै छ । कर्णाली सरकारले बाँझो जगाा राख्न नपाउने नीति अघि सारेसँगै गाउँगाउँमा लिफ्ट सिँचाइ आयोजनाहरू पनि निर्माण गरेको छ ।
जुम्लाको हिमा गाउँपालिका ३ मोफ्ला गाउँमा सौर्य ऊर्जाबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख सहयोगमा निर्माण गरिएको लिफ्ट सिँचाइले मोफ्ला गाउँपालिका २५ सय रोपनी बाँझो जगामा सिँचाइ सुविधा पुगेको स्थानीय परिमल रोकायाले बताए ।
आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण गरेर ७० मिटर अग्लो जग्गामा नदीबाट पानी तानेर सिँचाइ हुन थालेपछि स्थानीय दंग छन् । स्थानीय परिमल रोकाया भने, “सिँचाइ नहुँदा धान रोप्न छाडेको तीन दसक भयो । आकाशे पानीको भरमा अन्य बालीनालीको खेती गरे पनि सप्रेन । सुक्खा जमिनमा लगाएको सिमी, मकै, जौँ र गहुँ पनि राम्रो उत्पादन भएन ।” पछिल्लो समयम लिफ्ट सिँचाइ प्रविधिबाट पानी तानेर सिँचाइको पहुँच पुगेपछि स्थानीय किसान खुसी भएका छन् ।
हिमा नदीको पानी डाँडाकाँडासम्म कसरी आउला भन्ने सोचेका स्थानीय लिफ्ट सिँचाइले डाँडामै पानी पुगेपछि मोप्ला गाउँका २ सय ८५ घरधुरीले पर्याप्त सिँचाइ गर्न पाएका छन् । माफ्ला गाउँमा करिब ३ दसकपछि आउँदो जेठमा मार्सी रोप्ने तयारीमा छन् ।
सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ गरेको कर्णालीमा पहिलो हो । कृषि प्राविधिक धर्मराज शाहीले भने, “यो प्रविधि यहाँको भूगोल सुहाउँदो छ । सिँचाइ अभावले बाँझिदै गएको क्षेत्रमा लिफ्ट सिँचाइ निर्माण गरी कृषि क्षेत्र बढाउनतर्फ सरकार गम्भीर हुनुपर्छ ।” ५० किलोवाट क्षामता सौर्यऊर्जा जडान गरी माफ्ला गाउँमा सिँचाई पुराउन सफल भएको सांसद पदम रोकायाले बताए । उनले भने, “लामो पहल पछि कृषि मन्त्रालयले ५० लाख सहयोग गर्यो । लिफ्ट सिँचाइ कम्तीमा २५ देखि ३० वर्षसम्म निरन्तर चल्नेछ । त्यतिन्जेल सबै बाँझो जगामा खेतीपाती हुनेछ ।” कर्णाली सरकारको कृषि, सडक, पर्यटनमा प्रथामिकता दिने नीतिअनुसार माफ्लामा कर्णालीकै नमूना लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न सफल भएको समेत सांसद रोकायाको दाबी छ ।