दर्ता बिनाका व्यवसाय खोज्दै घोराही

दाङ-घोराही उप–महानगरपालिकाले नगर क्षेत्रमा रहेका दर्ताबिनाका व्यवसाय खोज्न सुरु गरेको छ । अहिले उपमहानगरका वडाहरूले आफ्नो वडामा रहेका व्यवसायीहरूको अनुगमन गरी दर्ता भए÷नभएको बारेमा जानकारी लिने काम सुरु गरेका छन् । जनप्रतिनिधिहरू आएसँगै नउठ्ने राजस्व उठाउनका लागि यस प्रकारको अभियान सुरु गरिएको हो, जसले गर्दा उप महानगरपालिकाको आन्तरिक आम्दानीसमेत बढ्ने उपमहानगरपालिकाले अपेक्षा गरेको छ ।
घोराही उप महानगरपालिकाले गरेको पटक–पटकको बजार अनुगमनका क्रममा धेरै व्यवसाय दर्ताबिना सञ्चालन भएको पाएपछि यस प्रकारको अभियान सुरु गरिएको हो । घोराही बजार क्षेत्रमा समेत बिनादर्ता व्यवसाय सञ्चालन हुँदै आएका छन् । बिना दर्ता व्यवसाय गर्दा उप महानगरपालिले धेरै राजस्वसमेत गुमाउँदै आएको छ । राजस्व गुम्न थालेपछि उपमहानगरपालिकाले यस प्रकारको अभियान सुरु गरेको हो । अहिले वडा कार्यालयहरूले आफ्नो क्षेत्रमा रहेका व्यवसायीहरूको अनुगमन गर्ने काम गरिरहेको घोराही उप महानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिए । अनुगमन गरी दर्ता नभएकालाई दर्ता प्रक्रियामा ल्याउने काम वडाहरूले गरिरहेको उनको भनाइ छ । “दर्ताबिना व्यवासाय गर्दा उपमहानगरपालिकालाई राजस्वसमेत घाटा लाग्ने गरेको छ,” सूचना अधिकारी चौधरीले बताए । नगरपालिकाभित्र कति व्यवसाय बिनादर्ता सञ्चालित छन् भनेर तथ्यांकसमेत अहिले उपमहानगरपालिका सँग छैन । नगरपालिकाले निर्माण गर्न थालेको प्रोपाइलबाट आधिकारिक तथ्यांक आउने उपमहानगरपालिकाले जनाएको छ । “तथ्यांक नै नहुँदा योजनासमेत निर्माण गर्न समस्या हुने गरेको छ,” सुचना अधिकारी चौधरीले भने ।
घोराही उपमहानगरपालिका वडा नं. १४ ले वडामा बिनादर्ता सञ्चालन भएका व्यवसायहरूका बारेमा अनुगमन गरी दर्ता प्रक्रियामा ल्याउने कार्य गरिरहेको वडा अध्यक्ष शक्तिराम डाँगीले बताए । “यस अभियानलाई तिहारपछि थप प्रभावकारी रूपमा अगाडि बढाउनेछौं,” उनले भने ।
घोराही उप महानगरपालिका वडा नं. १५ ले पनि बिनादर्ता व्यवसाय गर्ने व्यवसायीलाई दर्ताका लागि पहल गर्न थालेको जनाएको छ । वडा अध्यक्ष रमेश पाण्डेका अनुसार वडामा अनुगमन गरी व्यवसाय दर्ता गराउन थालिएको छ । बिनादर्ता व्यवसाय सञ्चालन हुँदा राजस्व घाटा लाग्ने भएकाले यस प्रकारको अभियान सुरु गरेको अध्यक्ष पाण्डेले बताए । त्यसै गरेर दर्ता गरेर व्यवसाय गरेर व्यवसायीहरूलाई समेत सहजता हुने उनको भनाइ छ । घोराही उप महानगरपालिका वडा नं. १६ ले पनि व्यवसाय दर्ता अनिवार्य बनाएको जनाएको छ । यसका लागि वडाले अभियानसमेत सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ । कार्यवाहक अध्यक्ष जगतबहादुर श्रेष्ठले वडामा व्यवसाय दर्ता अभियान सुरु गरेको जानकारी दिए ।