नगरपालिकालाई पहिलो गाँसमै ढुङ्गा

- पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयन भएन
व्यास नगरपालिकालाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । नगरपालिकाले आइतबारदेखि व्यास नगरपालिका–३ स्थित सफासडकलाई पार्किङ निषेध गर्ने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन सकेन ।
नगरपालिकाले कात्तिक १६ गते सार्वजनिक सूचना प्रकाशित गरि पृथ्वीराजमार्गको ट्राफिकचोकदेखि प्रशासनचोकसम्म र नगरपालिकाको नयाँ भवनको चोकदेखि कुमारी बैंकसम्मको लाइनलाई पूर्ण रुपमा पार्किङ क्षेत्र बनाउने निर्णय गरेको जानकारी दिएको थियो ।
नगरपालिकाले उक्त क्षेत्रमा पार्किङ निषेध सँगै पार्किङको विकल्प समेत दिएको छ । जसअनुसार व्यास नगरपालिकाको नवनिर्मित भवनको भूमिगत पार्किङ्गमा र अनसन चौतारी क्षेत्रमा पार्किङको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको थियो ।
यद्यपि बजारवासीले उक्त निर्णयको अवज्ञा गरेका छन् । सफासडकमा व्यापार गर्ने व्यवसायीले सफासडकमा पार्किङ नभए आफूहरुको व्यवसायमा असर पर्ने बताएका छन् । सफासडकमा पार्किङ निषेध गर्नु भनेको यहाँको व्यापार ठप्प पार्ने उद्धेश्यले आएको खतरनाक डिजाईन भएको नाम नबताउने शर्तमा एक व्यवसायीले बताए ।
यसअघि ट्राफिक प्रहरी कार्यालयले सफासडकमा साताव्यापी रुपमा एकतर्फी मात्रै पार्किङ गर्ने व्यवस्था शुरु गरेको थियो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद बास्तोलाले पार्किङको विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने तयारी भएको जानकारी दिए । उनले भने, ‘यस विषयमा छिट्टै बैठक बस्दैछ, बैठकले समस्याको समाधान गर्छ ।’
बहुउद्धेश्यीय भवन चलाउन पार्किङको सहारा
नगरपालिकाले करिब १० करोडको लागतमा बहुउद्धेश्यीय भवन निर्माण गरेको छ । उक्त भवनमा सटर भाडा कवल गरि व्यवसायीले पसल समेत सञ्चालन गरेका छन् । उक्त भवनमा ६०/६५ हजार मासिक भाडा तिर्ने गरि व्यवसायीले पसल सञ्चालन गरेका छन् ।
यद्यपि उक्त भवनमा सर्वसाधारणको खासै चहलपहल नभएपछि बहुउद्धेश्यीय भवनको अण्डरग्राउण्डमा पार्किङ गराएर त्यसमा आकर्षण बढाउन सफासडकमा पार्किङ निषेधको योजना ल्याइएको सफासडकका व्यवसायीको भनाई छ ।