सभामुख सापकोटाको पहलमा सिन्धुपाल्चोकका विपद् प्रभावित पालिकालाई राहत सामग्री वितरण

सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकका बाढी–पहिरो प्रभावित चार स्थानीय तहहरूले राहत सामग्री पाएका छन् । राहत सामग्री ठण्डिमा उपयोगी सावित भएको छ ।
जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्रअन्तर्गतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री सभामुख सापकोटाले शुक्रबार लार्चास्थित सुक्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोसी, जुगल, बाह्रबिसे र चौताराका प्रमुख तथा प्रतिनिधिहरूलाई प्राप्त सामग्री हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले सहयोग उपलब्ध गराएको चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त सबै सामग्रीको सही तरिकाले वितरण गर्न स्थानीय तहहरूलाई आग्रह गरे । उनले स्थानीय तहहरूले प्राप्त सामान वास्तविक पीडितले प्रयोग गर्न पाउनेगरि वितरण गर्ने विश्वास व्यक्त गरे ।
स्थानीय तहहरूलाई प्रदान गरिएका सामग्रीहरूमा २ सय ४० थान न्यानो कटन टेन्ट, तीन सय थानब्ल्याङ्केट र ३ सय थान उच्च क्षमताको टर्च लाइट छन् । यस वर्षको बाढी पहिरोका कारण पालिकाले बेहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएको हो ।
सभामुख सापकोटाको उपस्थितिमा जिल्लाविपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता र सम्बद्ध पक्षबीच छलफल गरेर पालिकाहरूमा भएको क्षति अनुसार राहत सामग्री वितरण गरिएको हो ।
बाढी–पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रबिसे नगरपालिकालाई ८० थान टेन्ट, ९५ थान ब्ल्याङ्केट र ९५ थान टर्च लाइट प्रदान गरिएको छ । दोस्रो क्षति भएको जुगल गाउँपालिकाले ७० थान टेन्ट, ८० थान ब्ल्याङ्केट र ८० थान टर्च लाइटप्राप्त गरेको छ । यसैगरी तेस्रो क्षति भएको भोटेकोशी गाउँपालिकाले ५५ थान टेन्ट, ७० थान ब्ल्याङ्केट र ७० थान टर्च लाइट पाएको छ भने विपद्बाट क्षतिका हिसाबले चौथो स्थानमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ टेन्ट, ५५ थानब्ल्याङ्केट र ५५ थानटर्च लाइट प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले विपद संकटग्रस्त घोषणा पछिका कार्यक्रम लागू हुने अवस्थामा रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जिल्लामा जोखिमयुक्त बस्तीको संख्या ३ सय ५० भन्दा धेरै रहेको प्रारम्भिक अध्ययनले देखाएको बताए । सामग्री बुझेपछि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सभामुखले जिल्लाका विपदग्रस्त क्षेत्रका लागि आमाको जस्तै भूमिका निर्वाह गरेको बताए । भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले राहत सामग्रीको पहल र हस्तान्तरणका लागि सभामुख सापकोटाप्रति आभार प्रकट गरे ।
यो वर्षातमा जिल्लाको क्षेत्र नं १ मा पर्ने बाह्रबिसे नगरपालिकाको जम्बु र खागदलमा, भोटेकोशी गाउँपालिकाको फुल्पिङ्गलगायतका विभिन्न स्थान, जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सभामुख सापकोटाले सहयोगका लागि अपिल गरेका थिए । सोही अपिल पछि चीन सरकारको नेलम काउन्टीले राहत सामग्री उपलब्ध गराएको हो ।
प्राप्तसबै सामग्रीको स्थानीय तहहरूको आग्रहमा भन्सार विभागले कर तथा महसुल छुुट गरेको यसको संयोजन गरेका सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । पाठकका अनुसार चीनले ८ लाख ५८ हजार युआन बराबरको राहत सामग्री पठाएको हो । जसको नेपाली मूल्य १ करोड ५५ लाख बढी हुन आउँछ ।
लगातारको विपत्तिपछि सभामुख सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा त्यसका लागि कार्य थालनीसमेत हुँदै छ । यस सम्बन्धी कार्यविधि अर्थमन्त्रालयबाट स्वीकृत भएर मन्त्री परिषद्मा पुगेको शुक्रबारको राहत हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको थियो । यसअघि गत भदौ १० गते सभामुख सापकोटाको पहलमा लिदीबाट स्थानान्तरण भएर बाँसखर्कमा बसोबास गरिरहेका नागरिकका लागि टेन्ट, ब्ल्यांकेट, सोलार बत्तीलगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।