Logo

प्रदेश–३ मा कार्यान्वयन सुरु

हेटौंडा-प्रदेश–३ मा २०७८ सालबाट पेट्रोलियम पदार्थमा आधारित सवारी साधन पूर्ण प्रतिबन्ध लगाउने प्रदेश सरकारको योजना कार्यान्वयनको सुरु भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफैंले विद्युतीय गाडी चढेर उक्त अभियानको सुरुवात गरेका हुन् ।
विद्युतीय सवारीमा विस्तारै आकर्षण बढाउँदै पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापन गर्ने नीति प्रदेश सरकारको छ । प्रदेशको नीति तथा योजनामा समेटिएको योजनाको कार्यान्वयनको सुरुवात मुख्यमन्त्री आफैंले गरेका हुन् । मुख्यमन्त्री पौडेलले चढ्ने विद्युतीय जिप आइतबार हेटौंडा आइपुगेको छ । चीनमा उत्पादन गरिएकोे बीवाईडी–६ मोडलको जिपको मूल्य ५५ लाख परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त जिपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको बताइएको छ । २ घण्टा चार्ज गर्दा जिप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ । पाँच सीट क्षमताको उक्त जिप सुविधायुक्त रहेको जनाइएको छ । चिनियाँ कम्पनीको सो जिप नेपालमा सूर्या गुड्स सप्लायर्सले विक्री गरेको हो ।
विद्युतीय सवारीको प्रबद्र्धनले वातावारण स्वच्छता कायम गरिराख्ने निकै भरपर्दो हुने भएकाले आफूहरूले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापन गर्नतर्फ योजना बनाइएको मुख्यमन्त्री पौडेलले बताए । नेपालमा विद्युतीय सवारीहरूको विस्तार गर्ने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ छ । विद्युतीय सवारीको नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेसन स्थापना गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेसन स्थापना गरिने योजना बनाइएको छ । प्रदेश सरकारले विद्युतीय बसहरू पनि सञ्चालनको तयारी गरेको मुख्यमन्त्री पौडेलले बताए । पहिलो चरणमा हेटौंडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडालगायत क्षेत्रमा पनि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिएको थियो ।
केही समय अगाडिमात्र काठमाडौंमा विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरिसकेका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा उर्जामन्त्री वर्षमान पुनले विद्युतीय जिप चढ्न सुरु गरिसकेका छन् ।
प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीलगायतका सहरमा पेट्रोलियम सवारी साधन पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाइने अभियान अन्तर्गत मुख्यमन्त्रीले नै विद्युतीय जिप चढेपछि अभियान सकारात्मक र सार्थक हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्