आयातकर्ताको स्वार्थमा काम गर्दै यातायात व्यवस्था विभाग

वीरगन्ज- यातायात व्यवस्था विभागले भारतमा निर्मित तीन पांग्रे सवारी साधनका आयातकर्ताहरुको स्वार्थमा काम गर्ने गरेको देखिएको छ । भारतमा निर्माण भई नेपालमा आयात हुने जेएसए मोटर्सको तीन पांग्रे टेम्पो आयात गर्ने आयात कर्ताहरुले कम्पनीले इञ्जिन क्षमतको मापदण्ड विपरित यातायात व्यवास्था विभागलाई प्रभावमा पारेर तीन पांग्रे टेम्पोको दर्ता गर्न निर्णय गराउने गरेको पाईएको हो । विभागको पूरानो तथ्यांक अनुसार भारतमा निर्माण भएको जेएसए कम्पनीको पेट्रोल टेम्पो ६ प्लस १ को सिट क्षमता भएको भएपनि अहिले यातायात विभागका कर्मचारीहरुको मिलेमतोमा एउटै कम्पनीमा निर्मित समानान्तर क्षमताको इञ्जिन भएको टेम्पोलाई पनि फरक फरक सिट क्षमता उल्लेख गरेर दर्ता गरेको पाईएको छ । टेम्पो निर्माण कम्पनीहरुका अनुसार नेपालमा आयात गरिएका बजाज, टिभिएस, पिजियाओ लगायतका कम्पनीको २०० सीसीको टेम्पोमा ३ सिटमा १ र लोहिया, नन्दी, री कम्पनीको ४०० सीसीको टेम्पोमा ६ सिटमा १ क्षमता तोकिएको छ । भारतको कानपुर स्थित जे.एस. अटो प्रालि कम्पनीको ५१० सीसीको टेम्पोको पनि शुरुमा ६ सिटमा १ क्षमताको अनुमति दिईएको थियो । तर, यातायात व्यावस्था विभागबाट जे.एस. अटो प्रालि कम्पनीको एकै क्षमताको टेम्पोलाई तीन पटकमा तीन किसिमको सिट क्षमता निर्धारण गरी दर्ता गराएको पाईएको छ । जे.एस. अटो प्रालि कम्पनीको ५१० सीसीको टेम्पोलाई मिति २०७३ मंसिर १६ गतेको पत्रमा ६ मा १ सिटको क्षमता तोकिएको भएपनि २०७३ माघ १५ गतेको पत्रमा सोही क्षमताको टेम्पोलाई ७ मा १ र तेश्रो पटक मिति २०७४ चैत २५ गते ८ सिटमा १ सिट क्षमतामा दर्ता भएको पाईएको छ । तीनवटै टेम्पो जे.एस. अटो कम्पनी कानपुरको रहेको छ । अलग अलग भन्सार नाकाबाट आयात गरिएको अलग अलग अधिकृत विक्रेताहरुलाई यातायात व्यावस्था विभागले यसरी एउटै क्षमताको टेम्पोलाई फरक फरक सिट क्षमतामा दर्ता गरिनुले आर्थिक चलखेल भएको देखिएको छ । क्षमता बढाएर दर्ता गराउँदा पाँच लाख सम्म रकम लिने गरेको आयातकर्ताहरुले नै बताएका छन् ।भारतमा निर्मित जुनसुकै सवारिसाधनहरु भारत सरकारको मातहतमा रहेको अटोमोटिभ रिसर्च एशोसिएसन अफ इण्डिया र भारत सरकारकै नाट्रीप अन्तर्गतको इन्टरनेशनल सेन्टर फर अतोमोटिभ टेक्नो (आइक्यट) संस्थाबाट सिट क्षमता तथा इञ्जिन लगायतको सम्पूर्ण प्राविधिक परिक्षणपछि प्रमाणित गरेर मात्रै बजारमा विक्री वितरण गर्ने गरिन्छ । नेपालमा आयात भएका जे.एस.ए टेम्पोको यी दुवै कम्पनीले ६ सिटमा १ निर्धारण गरी प्राविधिक परिक्षण पश्चात नेपाली बजारमा पठाएको भएपनि यातायात व्यवस्था विभागले भने मातहतका कार्यालयलाई पत्र लेखे बापत दुईलाख ५० हजारदेखि पाँचलाख सम्म रकम लिने गरेको नाम नबताउने शर्तमा एक आयातकर्ताले कारोबारलाई भने । विभागले लेखेको पत्र अनुसार प्रदेशमा रहेका यातायात कार्यालयहरुले नियम विपरित सिट क्षमता बढाएर टेम्पो दर्ता गर्ने गरेका छन् । प्रदेश १ को ईटहरीमा रहेको डि.ए.पी. ट्रेड कन्सर्नले आयात गरेको जे.एस अटो प्रालिको ५०० सीसीकै तीन वटा टेम्पोको फरक फरक सिट क्षमतामा दर्ता भएको पाईएको छ । संस्थाले भारतमा सिएनजी र डिजल इञ्जिनका लागि प्रमाणित गरेका टेम्पोहरु नेपालमा भने पेट्रोल इञ्जिनमा दर्ता भएका छन् । अटोमोटिभ रिसर्च एशोसिएसन अफ इण्डिया र इन्टरनेशनल सेण्टर फर अटोमोटिभ टेक्नोलोजी (आईक्याट) संस्थाले सिएनजी र डिजल इञ्जिनको मापदण्डमा प्रमाणित गरेको जे.एस.अटो प्रालिका टेम्पोहरु नेपालमा भने मापदण्ड विपरित पेट्रोल इञ्जिनमा दर्ता भई चलिरहेका छन् ।