७ स्थानीय तहको पहिलो किस्ताको रकम रोक्का

आर्थिक विवरण नबुझाउँदा दोलखाका सातवटा स्थानीय तहको चालू वर्षको पहिलो किस्ताको रकम रोकिएको छ । दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसके पनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् ।
जिल्लाका दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र जिरी नगरपालिकाले भदौ ६ गते पहिलो किस्तावापतको निकासा लगेको छ । भीमेश्वर नगरपालिकाले पहिलो किस्तावापत १० करोड १७ लाख ७५ हजार रकम पाएको छ, भने जिरी नगरपालिकाले पाँच करोड ८८ लाख ५० हजार निकासा लगेको छ ।
आर्थिक विवरण बुझाएका दुई नगरपालिकालाई निकासा दिए पनि गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण बुझाउन बाँकी रहेकाले पहिलो किस्तावापतको रकम लैजान नसकेको प्रमुख कोष नियन्त्रक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए ।
गाउँपालिकातर्फ चालू आवका लागि सबैभन्दा बढी २९ करोड ८३ लाख ३० हजार बजेट पाएको कालिञ्चोक गाउँपालिकाले पहिलो किस्तावापत सात करोड ३९ लाख ५० हजार पाउनेछ । त्यसमध्ये चार करोड १० लाख सर्शत अनुदान हो भने तीन करोड २९ लाख ५० हजार वित्तीय समानीकरण वापतको हो । गौरीशंकर गाउँपालिकाले चालू आवका लागि कुल २२ करोड ४० लाख ३८ हजार बजेट पाएकोमा पहिलो किस्तावापत पाँच करोड ५३ लाख ५० हजार पाउनेछ । त्यसमध्ये दुई करोड ६३ लाख ५० हजार वित्तीय समानीकरण र दुई करोड ९० लाख सशर्त अनुदान हो । तामाकोशी गाउँपालिकाले पहिलो किस्तामा दुई करोड ८८ लाख ५० हजार वित्तीय समानीकरण र तीन करोड ८० लाख सशर्त अनुदान गरी कुल ६ करोड ६८ लाख ५० हजार पाउनेछ । तामाकोसी गाउँपालिकालाई चालू वर्ष केन्द्र सरकारले २६ करोड ९० लाख ४० हजार बजेट विनियोजन गरेको छ । यसैगरी कुल २४ करोड ७८ लाख ३७ हजार बजेट पाएको वैतेश्वर गाउँपालिकाले पहिलो किस्तामा ६ करोड १५ लाख बजेट पाउनेछ । त्यसमा ३ करोड २० लाख सशर्त अनुदान र २ करोड ९५ लाख वित्तीय समानीकरण अनुदान हुनेछ । मेलुङ गाउँपालिकाले चालू आव २७ करोड ४२ लाख ३७ हजार कुल बजेट पाउनेमा पहिलो किस्तामा २ करोड ९९ लाख वित्तीय समानीकरण र ३ करोड ८० लाख सशर्त अनुदान गरी कुल ६ करोड ७९ लाख बजेट पाउनेछ ।
चालु आवमा कुल २३ करोड ७२ लाख ४२ हजार बजेट पाएको विगु गाउँपालिकाको लागि पहिलो किस्तामा ५ करोड ९२ लाख बजेट निकासा हुनेछ । त्यसमध्ये २ करोड ८२ लाख वित्तीय समानीकरण र ३ करोड १० लाख सशर्त अनुदान हो । यस्तै, शैलुङ गाउँपालिकाले पहिलो किस्तामा २ करोड ८२ लाख ७५ हजार वित्तीय समानीकरण र २ करोड ९० लाख सशर्त अनुदान गरी कुल पाँच करोड ७२ लाख ७५ हजार पाउनेछ । शैलुङ गाउँपालिकालाई चालू आवका लागि भने कुल २२ करोड ९३ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ । तर हालसम्म कुनै पनि गाउँपालिकाले पहिलो किस्तावापतको रकम निकासा भने लगेका छैनन् । गाउँपालिका गत आवको हिसाब बुझाउने प्रक्रियामा रहेकाले चाँडै निकासा लैजाने प्रमुख कोष नियन्त्रण न्यौपानेले बताए ।