Logo

विदेशी मुद्राको प्रयोगमा सावधानी

नेपाल–भारतबीचको खुला सीमा र दशकौंदेखि दुई देशका नागरिकबीच कायम सम्बन्ध र कारोबारजस्ता कारणले भारुका हकमा भने केही खुकुला प्रावधान लागू छ ।

देशमा पर्यटकहरूको बढ्दो संख्या, वैदेशिक आप्रवासन र बढ्दो बाह्य व्यापारलगायतका कारणहरूले अहिले नेपालीहरूसँग विदेशी मुद्राको नगद सञ्चिति बढ्दै गएको पाइएको छ, तर कानुनी रूपमा यसरी विदेशी मुद्रा भनेर सञ्चित गरेर राख्न, चलनचल्तीमा ल्याउन पाइँदैन । नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन–२०१४, विदेशी विनिमय नियमित गर्ने ऐन–२०१९, नेपाल राष्ट्र बैंक ऐन– २०५८ र बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐन–२०७३ ले नेपाली मुद्राबाहेकको अन्य मुद्राको कारोबार गर्न नहुने प्रस्ट व्यवस्था गरेका छन् । नेपाली नोट मुद्राबाहेकका अन्य मुद्रा बैंक–वित्तीय संस्थासहित राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सटही काउन्टरहरूले मात्र तोकिएको कानुनी व्यवस्थाभित्र रहेर सटही र अन्य कारोबार गर्न पाउँछन् । यो कुरा नेपालमा कारोबारका लागि खुला गरिएका सबै मुद्राको हकमा लागू हुन्छ, चाहे त्यो अमेरिकी डलर होस् वा भारु वा चिनियाँ युआन । नेपाल–भारतबीचको खुला सीमा र दशकौंदेखि दुई देशका नागरिकबीच कायम सम्बन्ध र कारोबारजस्ता कारणले भारुका हकमा भने केही खुकुला प्रावधान लागू छ । अहिले नेपाल–भारतबीच आवतजावत गर्ने नेपालीहरूले एक पटकमा २५ हजार भारुसम्म बोकेर ल्याउन, लैजान पाउँछन् । सन् १९५० को सन्धिपछि नेपाल र भारत दुवैतिर ठूलो संख्यामा एक–अर्काका नागरिक कार्यरत रहेको, नेपालको ठूलो व्यापारिक निर्भरता भारतसँगै कायम रहेको, अध्यागमनमा अभिलेखित गरेर वा नगरी वार्षिक १० लाखभन्दा बढी संख्यामा भारतीय पर्यटक नेपाल आउने गरेको र यहाँबाट पनि उत्तिकै संख्यामा नेपालीहरू तीर्थयात्रा, उपचार र शिक्षा आर्जनका लागि भारत जाने गरेको सन्दर्भलाई ध्यान दिएर यो व्यवस्था गरिएको हो ।
भारतसँगको व्यापारको भुक्तानी तथा अन्य प्रयोजनका लागि आवश्यक पर्ने भारुको आवश्यकता पूरा गर्नैका लागि नेपाल राष्ट्र बैंकले हरेक वर्ष मूल्यवान् अमेरिकी डलर बिक्री गरी भारु किन्दै आएको छ । गत वर्ष मात्र नेपालले बाह्य व्यापार, रेमिट्यान्स र पर्यटनबाट आर्जन गरिएको ४ अर्ब ७६ करोड अमेरिकी डलर बेचेर भारतसँग ३ खर्ब ११ अर्ब ६४ करोड रुपैयाँबराबरको भारु किनेको छ । रिजर्भ बैंकबाट किनिएको भारुको ठूलो हिस्सा भुक्तानीमा प्रयोग भए पनि त्यसको केही हिस्सा चलनचल्तीमा रहिरहेकै हुन्छ । यसैगरी भारतबाट रोजगारी वा धार्मिक क्षेत्र भ्रमणबाट फर्केका, द्विपक्षीय व्यापारमा संलग्न व्यावसायीहरू तथा बढी भारतीय पर्यटकले भ्रमण र कारोबार गर्ने क्षेत्रका होटल व्यवसायीदेखि सामान्य कारोबार गर्नेहरूसँग पनि केही न केही भारुको सञ्चिति छ नै ।
सन् २०१६ को भारतीय अमौद्रीकरणका कारण नेपालमा औपचारिक र अनौपचारिक रूपमा थन्किएको करिब ७ अर्ब रुपैयाँ नसाटिने करिब–करिब निश्चित नै भइसकेपछि अब नेपालमा विदेशी मुद्राको कारोबारमा संवेदनशील हुनुपर्ने अवस्था उत्पन्न भएको छ । नेपालमा सञ्चित रहेको सबै भारुलाई जसरी भारतीय पक्षले अवैध ठह-याएको छ, त्यसले औपचारिक माध्यमबाट राष्ट्र बैंकले किन्ने भारुको पनि वैधानिक हैसियतमा प्रश्न उब्जाएको छ । दुई वर्षअघि ५ सय र १ हजार दरका भारुलाई अमौद्रीकरण गरेको भारतले अहिले २ सय, ५ सय र २ हजार दरका मात्र होइन; १०, ५० र १ सयका दरको पनि नयाँ रंग र डिजाइनका नोटहरू जारी गरिसकेको छ । यदि कुनै बहानामा यी दरका पनि पुराना नोटलाई अमौद्रीकरण गरिने हो भने नेपालमा रहेको थप अर्बौं रुपैयाँ केवल खेलौना कागजमा परिणत नहोला भन्न सकिन्न । त्यसैले यो अमौद्रीकरणबाट पाठ सिकेर नेपालभित्र अर्को देशको मुद्रालाई खुला रूपमा स्वीकार र कारोबार गर्ने व्यवस्थामै पुनरावलोकन गर्नुपर्ने आवश्यकता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्