Logo

पर्यटनमा स्याटेलाइट सरकार र ज्वालामुखी

मुलुकवासीमा रोजगारीका अवसरहरूको सिर्जनाका साथै पर्यटनले आम जनजीवनको विद्यमान जीवनस्तरलाई पनि उकास्ने काम गरिरहेको हुन्छ ।

उपग्रह लेखा प्रणाली (स्याटेलाइट एकाउन्टिङ सिस्टम) बारे नेपालमा चर्चा हुन थालेको पनि धेरै वर्ष व्यतीत भइसकेको छ । विशेष गरी पर्यटन क्षेत्रका विभिन्न गतिविधिको यकिन तथ्यांक प्राप्त गर्नका लागि यस प्रणालीलाई पर्यटनविद्हरूले चर्चाको विषय बनाएका हुन् र सन् १९९८ को नेपाल भ्रमण वर्ष अभियानका दौरान र त्यसपछिका जति पनि मन्त्रीहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आए, प्रायः सबैले यस प्रणालीलाई नेपालमा शीघ्रातिशीघ्र लागू गरिने भनी आश्वासनले भरिएका भाषण गर्दै गए, तर मुलुकले त्यो प्रणाली हालसम्म पनि प्रयोगमा ल्याउन भने नसकेको अवस्था छ । पर्यटनमा यस प्रणालीको सुरुवात विश्व पर्यटन संगठनले गरेको हो । फ्रान्सले सन् १९७९ मा यस प्रणालीका बारेमा अनुसन्धान प्रारम्भ गरेको थियो । बीसौँ शताब्दीको मध्यतिरबाट मानिसमा केही समयका लागि बाह्य मुलुकको भ्रमणमा जाने संस्कृतिको व्यापक विस्तार भयो । सँग–सँगै आन्तरिक देशाटन पनि फैलिन थाल्यो, जसले गर्दा पर्यटनका तथ्यांकहरूको आवश्यक विश्लेषण र मूल्याकंंन गरिनुपर्नेतर्फ सम्बन्धित विश्व समुदायको ध्यान आकृष्ट भयो । कालान्तरमा पर्यटनले विभिन्न शब्दमा परिभाषित हुँदैै मुलुकहरूको आर्थिक गतिविधिमा बढ्दो र दिगो प्रभाव पार्दै गयो, जुन अहिलेसम्म कायमै छ । पहिले पर्यटनको महत्व देशाटनमा मात्र सीमित थियो भने अब त्यो विकसित हँदै वातावरण, पर्यावरण, पूर्वाधार र प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूतर्फ आकर्षित हुदै गइरहेको पाइन्छ । पर्यटनलाई अब आर्थिक स्रोतका रूपमा मात्रै हेरिँदैन । पर्यटन मुलुकहरूको राष्ट्रिय अर्थतन्त्रमा पर्न जाने विविध पक्षसँग जोडिएको विषय बन्न पुगेको छ । मुलुकवासीमा रोजगारीका अवसरहरूको सिर्जनाका साथै पर्यटनले आम जनजीवनको विद्यमान जीवनस्तरलाई पनि उकास्ने काम गरिरहेको हुन्छ । यसको सूक्ष्म अध्ययनका लागि पर्यटन उपग्रह लेखा प्रणाली उपयोगी सिद्ध ठहरिएको छ । यो पर्यटनको सही आर्थिक मापन गर्ने उपकरण हो । यसबाट पर्यटनहरूको सही तथ्यांक जस्तै : भ्रमणमा आउने कुल पर्यटक संख्या, तिनले भ्रमणका क्रममा खर्च गर्ने औसत रकम, उनीहरूको बसाइ अवधि, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान आदि महत्वपूर्ण विषयमा उपग्रहबाट सञ्चालित यस लेखा प्रणालीले कही शंका नरहने गरी विश्लेषणात्मक तथ्यांक प्रस्तुत गर्छ ।
नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हालै आफ्नो एउटा मौखिक वक्तव्यमा आगामी एक महिनापश्चात् नेपालमा पनि स्याटेलाइट एकाउन्टिङ प्रणाली स्थापना गरी त्यसको सञ्चालन गरिने उद्गार व्यक्त गर्नुभएको विषयलाई यस पंक्तिकारले पर्यटन क्षेत्रमा अहिलेसम्म मुलुकले हासिल गरेका उपलब्धिहरूमा यो सबैभन्दा महत्वपूर्ण उपलब्धि हुन जाने निश्चित रहेको ठानेको छ । अध्यागमन विभागबाट प्राप्त हुने पर्यटक आगमनको तथ्यांक र नेपाल राष्ट्र बैंकबाट प्रकाशित हुने पर्यटनबाट राज्यलाई प्राप्त कुल आम्दानीको अभिलेख कता–कता अपेक्षानुरूप नरहेको पाइने गर्छ । अब त्यस किसिमका शंका–उपशंकाहरूको स्वतः निवारण हुने विश्वास लिन सकिन्छ । मन्त्रीले भनेअनुसार हवाई मार्गबाट र साथसाथै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको संख्या अब उक्त प्रणाली लागू भएपछि स्पष्ट रूपमा सबैले थाहा पाउन सक्नेछन् । मुलुकभित्रका कुन गन्तव्यमा, कुन बेला कति पर्यटक पुगे, उनीहरूले त्यहाँ कति रात बिताए, कति खर्च गरे, सबै यकिन हुनेछ । आफ्नो वक्तव्यकै क्रममा सन् २०२० सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा खुला रहने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ६० प्रतिशतले वृद्धि हुन जाने पनि भन्नुभएको उलेख्य छ । नेपाललाई विश्वसामु सर्वाेत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न नेपाल हरेक मौसमका लागि उपयुक्त पर्यटकीय मुलुक रहेको भन्ने नारालाई रणनीतिक रूपमा अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गरिने पनि उहाँले बताउनुभएको थियो । पर्यटनबाट राज्यलाई प्राप्त हुने हालको २ प्रतिशतको कुल गार्हस्थ्य आम्दानी बढाएर १० प्रतिशत पु¥याउने लक्ष्य राखिएको समेत उहाँले पुनरावृत्ति गर्नुभएको थियो । उक्त अवसरमा पर्यटकको संख्यात्मक वृद्धि हुँदै जाँदा सँगसँगै राज्यले गुणस्तरीय पर्यटकीय सेवाको आवश्यक व्यवस्थातर्फ पनि कदम चाल्दै जाने किटान गर्नुभएको सुखद जानकारीलाई यहाँ उद्धृत गरिनु आवश्यक ठानिएको छ ।
मुलुकलाई ऋणमा डुबाउने कुनै पनि परियोजना मलेसियालाई आवश्यक नभएकाले तिनलाई रद्द गरिएको घोषणा हालै त्यहाँका प्रधानमन्त्री महाथिर मोहम्मदले गर्नुभएबाट हामीले पनि विकासका नाममा थप वैदेशिक ऋण भार नबोक्नेतर्फ केही विचार पु¥याउनुपर्ने हो कि ? पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको सरकारी निवासमा बस्दिनँ, बुलेटप्रुफ गाडी चढ्दिनँ भनेर गरिएको प्रण प्रधानमन्त्री निवासलाई अनुसन्धान विश्वविद्यालय बनाउने, सो निवासमा हाल रहेका ५ सय २४ जनाको सहयोगी टोलीलाई २ जनामा झार्ने, प्रधानमन्त्रीका लागि भनेर थुपारिएको ३३ वटा बुलेटप्रुफ गाडी र ८० वटा कार तथा एउटा हेलिकप्टरलाई लिलाम गरी त्यसको आयस्था राज्यकोषमा जम्मा गर्ने एवं राज्यका उच्चपदस्थ व्यक्तिहरूको भ्रमण खर्च घटाउने जस्ता ऐलानलाई पनि हाम्रो जस्तो गरिब मुलुकका नेताहरूले मनन गर्नुपर्ने होइन र ? क्रोएसियाकी राष्ट्रपति कोलिन्द्रा ग्रेबर कितारोविकको सादा जीवनको अनुकरणतर्फ पनि सरकारले केही साचेको छ कि ? नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुट निस्फिक्री रही साइकल चढेरै आफ्नो कार्यालय जाने–आउने गर्ने गरेको एवं क्यानडाका प्र.म. जस्टिन टुड्योले सामान्य जीवनयापन गर्ने गरेको जस्तै अन्य कैयौँ मुलुकका नेताहरूको जीवनबारेको सत्य–तथ्यहरूलाई उदाहरणका रूपमा हाम्रा जनसेवकहरूले लिने कि नलिने ? आफू अत्यधिक सुविधाभोगी हुँदै जाने र सक्रिय रजनीतिबाट अवकाश लिइसकेकाहरूलाई पनि सुविधाको अनपेक्षित वर्षाद् गराएर देखाइदिने ! यो कस्तो मोडलको सुशासन हो ? नेपालका अधिकांश जनता भोका, नाङ्गा, बेरोजगार र बेघरबार छन् । उनीहरू बिरामी पर्दा राज्यले सिटामोलसम्म उपलब्ध गराउन नसक्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ, तर अर्कातर्फ सुशासनको वाचा गर्दै शपथ खाएकाहरूको महत्वाकांक्षा गगनचुम्बी बन्दै गइरहेको देखिन्छ । सरकार ! हामी आफ्नो धरातलमा उभिएका नेपाली हौँ, तिम्रो पहिलो काम हाम्रा आधारभूत आवश्यकताको परिपूर्ति गर्नु हो । त्यसपश्चात् चढौंला मोनोरेल, हवाइरेल र पूर्व पश्चिम रेल ।
चौथो विमस्टेक सम्मेलनमा उठाइने एजेन्डाहरू समय सान्दर्भिक छन् । निजगढ विमानस्थलमा निर्माणका क्रममा कुल साढे २४ लाखभन्दा बढी रूख काटिने भनिएको छ, तर नेपाली जनता र पर्यावरणविद् त्यसको प्रतिवाद गर्दैनन् । किनभने विकासका लागि कहींकहीं विनाश पनि आवश्यक पर्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको शिलान्यास भइसकेको छ । चिनियाँ पर्यटकहरूको संख्या बढ्दो छ । निजी क्षेत्रबाट राजधानीमा पर्यटकीय आर्कषणका रूपमा दक्षिण एसियाको पहिलो स्काई वाकको निर्माणको घोषणा भइसकेको छ । भारतका प्र.म. मोदीको वाचाअनुसार अयोध्यादेखि जनकपुरसम्म आउने रेल आगामी नोभेम्बरभित्रै तामिलनाडुको मदुराईबाट श्री रामायण यात्रा एक्सप्रेसका रूपमा सुरु हुँदैछ । तेस्रो जिम्मेवार व्यवसाय अन्तर्राष्ट्रिय सम्मेलन आगामी २०१९ अगस्टमा काठमाडौँमा हुने भएको छ । नेपाल वायुसेवा निगममा दुईवटा नयाँ वाइडबडी जहाज ‘अन्नपूर्ण’ र ‘मकालु’ ले अन्तराष्ट्रिय उडान भर्न थालिसकेका छन्, नेवानि अहिले नाफामा सञ्चालित छ । आगामी मंसिरदेखि राजधानीमा विद्युतीय बस सञ्चालन गरिँदै छ, पाटनस्थित कृष्णमन्दिरको जीर्णाेद्धारको काम सम्पन्न भइसकेको छ, इलामलाई स्मार्ट सिटी बनाइने भएको छ, राजधानीका ट्याक्सी चालकहरूलाई युनिफर्म पोसाक अनिवार्य गरिएको छ, पर्यटन विकासले गर्दा मुलुकका विभिन्न स्थानमा पाँचतारे होटलहरू निर्माण भई सञ्चालनमा आउने तर्खरमा छन् । स्थानीय तहमा पनि युवाहरूको तदारूकतामा होमस्टे र सुविधायुक्त होटलहरू निर्माण भइरहेका छन् । पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट फर्जी उद्धार गर्नेहरूविरुद्ध कारबाही सिफारिस भएको छ आदि अनकौँ सकारात्मक काम निःसन्देह सरकार तथा निजी स्तरबाट सम्पन्न हुँदै गैइरहेका छन्, तर मुलुकले देशवासीलाई शान्ति–सुरक्षाको प्रत्याुभूति दिन सकिरहेको छैन, दण्डविहीनता बढ्दै गइरहेको छ । हत्या, हिंसा र बालिका बलात्कारका घटनाहरू दिनदिनै बढ्दै गएको अवस्था छ । विमानस्थलभित्रैबाट यात्रुको सामान दिनदहाडै चोरिँदै छ । सडकको दुरवस्थामा कुनै उल्लेख्य सुधार हुन सकेको छैन । ठेकेदारहरूले विकास–निर्माणका कामहरूलाई यथासमयमै टुंग्याउन आलटाल गरिरहेका छन् । स्थानीय र प्रदेश सरकारहरूले जथाभावी कर उठाउने काम रोकिएको छैन । त्यसरी उठाइने करमा एकरूपता छैन र उठाइएको करको खुलेआम दुरुपयोग भइरहेका समाचारहरू छ्यापछ्याप्ती छन् । हजारौँ अन्य यस्ता सन्दर्भहरू छन् जसले गर्दा नेपाली जनताको संयमको बाँध कुनै पनि बेला फुट्न सक्ने सम्भावना बढ्दै गएको हामी देखिरहेका छौँ ।
शेक्सपियरले आफ्नो नाटक ‘ह्यामलेट’ मा कुनै व्यक्ति मुस्कुराई–मुस्कुराई खलनायक पनि बन्न सक्छ भनेजस्तै सरकारका अहिलेका समर्थकहरू कुनै पनि बेला विरोधी भई उत्रिन सक्छन् । त्यसर्थ सरकारले मुलुकको यो अराजक अवस्थालाई अविलम्ब रोकेर गम्भीर भई स्थिति सुधारतर्फ कदम चालेन भने पूर्व सूचनाबिना आगो ओकल्ने ज्वालामुखीसरह कल्पनै गर्न नसकिने भयावह परिदृश्य छिट्टै मुलुकमा नदेखिएला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्