थापा प्रधानसेनापतिमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधान सेनापतिमा वरिष्ठतम रथी पूर्णचन्द्र थापालाई नियुक्त गरेकी छन् । मन्त्रीपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम कायम मुकायम प्रधानसेनापति थापालाई भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
भदौ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । ५८ वर्षीय प्रधामनसेनापति थापाले २०३७ मंसिर २७ गते सहायक सेनानीबाट सैनिक सेवा प्रवेश गरेका हुन् ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ३ वर्षे पदावधिका कारण अनिवार्य अवकास पाउने भएपछि थापा प्रधानसेनापतिमा नियुक्त भएका हुन् । प्रधानसेनापति थापा साउन २४ गतेबाटै १ महिने विदामा छन् । उनले भदौ २४ गतेबाटै अवकास पाउनेछन् ।
सैनिक ऐन २०६३ अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ । राष्ट्रपति सेनाको परमाधिपति रहने संवैधानिक व्यवस्था समेत छ । थापाले यसअघि पृतना, बाहिनी, गण÷गुल्म तथा सशस्त्र द्वन्द्वका बेला जंगी अड्डा र पृतना मातहत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उपत्यका पृतनापति, २ नम्बर बाहिनीपति, सैनिक सचिव, सैनिक कल्याणकारी योजना निर्देशक, सम्भाररथी विभाग लगायत ठाउँमा नेतृत्व गरिसकेका थापालाई सेनाको व्यावसायिक छवी उकास्ने चुनौती पनि छ । सेनामा सरुवा–बढुवा–वृत्तिविकास लगायतमा पहुँच र प्रभाव तथा सरकारको दवावका कारण व्यवसायिक छवीमा प्रश्न उठेको बताइरहँदा उनको सैनिक नेतृत्व कार्यकाल भने त्यति सहज छैन ।
सेनापति हुनु अघिसम्म इमान्दार र व्यावसायिक छवि कायम गर्न सफल रहेका भनिएका क्षेत्री अवकास अघिका थुप्रै निर्णयमा विवादमा तानिएका छन् । त्यो विवाद र आन्तरिक असन्तुष्टिलाई समेत सम्बोधन गर्नुपर्ने चुनौती थापाको काँधमा सरेको छ । २०१७ भदौ २५ गते लमजुङमा साविक गाउँशहर–८ मा जन्मेका थापाको सैनिक छवी व्यवसायिक र इमान्दार अधिकृतको रुपमा चिनिन्छ ।
त्यसो त थापाको पारिवारिक पृष्ठभूमि पनि सुरक्षा निकायसँगै जोडिएको छ । बुबा फणेन्द्रबहादुर थापा प्रमुख सेनानीबाटै अवकासप्राप्त अधिकृत हुन् भने उनका दाजु रोहित थापा सशस्त्र प्रहरीको एआइजीबाट अवकासप्राप्त अधिकारी हुन् । संयुक्त राष्ट्रसंघका लागि २०७१ माघ २५ देखि २०७२ माघ २४ सम्म इजरायल तथा सिरिया सीमानास्थित गोलान हाइटमा रहेको अनडुफ मिसन प्रमुख तथा फोर्स कमान्डरको जिम्मेवारी सम्हालिसकेका थापा २०७८ भदौ सम्म सेनापतिका रुपमा रहनेछन् ।