स्वघोषणामा कर तिर्न व्यवसायी तयार «

स्वघोषणामा कर तिर्न व्यवसायी तयार

“अहिले व्यवसायको प्रकृतिका आधारमा कर तिर्ने वातावरण बनेको छ ।”

चितवन-स्थानीय तहले चर्को कर असुली गरेको भन्दै विरोध भइरहँदा भरतपुर महानगरपालिकाका व्यवसायी भने कर तिर्न श्रेणी छुट्टाउने काममा लागेका छन् । उद्योग वाणिज्य संघमा आबद्ध २९ वस्तुगत संगठन व्यवसाय करको स्वघोषणामा लागेका छन् ।
“व्यवसाय करको श्रेणी नहुँदा गतवर्ष साना व्यवसायी मारमा थिए,” उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले भने, “अहिले व्यवसायको स्तरअनुसारको कर तिर्ने व्यवस्था बनेको छ, सोहीअनुसार स्वघोषणा गरेका छौं ।” उनका अनुसार ९ वटा वस्तुगत संगठनका १ हजार ७ सय २ व्यवसायले कति कर तिर्ने भन्ने मूल्यांकन भइसकेको छ । “श्रेणी नहुँदा ठूला व्यवसायी सरह कर तिर्नुपर्ने अवस्था थियो,” उनले भने, “अहिले व्यवसायको प्रकृतिका आधारमा कर तिर्ने वातावरण बनेको छ ।” महानगरले व्यवसायीको सुझावका आधारमा व्यवसाय करको क देखि च सम्म श्रेणी बनाएर आर्थिक ऐन यही साउन १ गते प्रमाणीकरण गरेको छ ।
“स्वयम् व्यवसायीसँगको छलफल र व्यवसायको प्रकृतिको आधारमा करको दर निर्धारण गरी महानगरमा पठाएका छौं”, उनले भने, “यसले गर्दा व्यवसायी कर तिर्न उत्साहित छन् ।” उनले उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसाय करको स्वघोषणा अभियानले करिब ३५ प्रतिशत नयाँ व्यवसाय करको दायरामा आएको बताए । फेन्सी, कपडा, फर्निचर, हार्डवेयर, होटल, इलेक्ट्रोनिक्स, सुनचाँदी, फलफूल र तरकारी पसलको वर्गीकरण सूची महानगरमा पठाइएको छ । बाँकी २० वटा वस्तुगत संगठनअन्तर्गतका व्यवसायको वर्गीकरण सूची एक हप्ताभित्र बुझाइसक्ने तयारी भएको छ । ९ फर्निचर, ५ हार्डवेयर र १७ सुनचाँदीले २५÷२५ हजार तिर्ने छन् । २ फेन्सी र २ होटलले ५०-५० हजार तिर्नेछन् । ६ कपडा पसलले १५ हजार तिर्नेछन् । यस्तै प्रकृतिका अन्य व्यवसायले श्रेणी अनुसार यो भन्दा कम वार्षिक व्यवसाय कर बुझाउनेछन् । “व्यवसाय कर तिर्न व्यवसायी तयार छन्,” अध्यक्ष प्रधानले भने, “सेवा दस्तुर, सिफारिस दस्तुर, सम्पत्ति करबारे हाम्रो विरोध वा सर्मथन छैन, अध्ययन गरेपछि मात्रै साझा धारणा सार्वजनिक गरिनेछ ।”
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर महानगरमा करमा कुनै कन्फ्युजन नरहेको बताइन् । “गत वर्ष केही विरोध भए पनि अहिले देशभर आन्दोलन चर्किंदा महानगर शान्त बन्यो,” उनले भनिन्, “व्यवसाय करमा वर्गीकरण भएपछि व्यवसायी निकै उत्साहित छन् ।” पुँजी, लगानी, कारोबार तथा स्थानका आधारमा व्यवसाय करको वर्गीकरण गरिएको उनले बताइन् । “व्यापारी तथा व्यवसायीको स्वघोषणाको आधारमा कर लिने काम गर्दैछौं,” उनले भनिन्, “करलाई वैज्ञानिक बनाउँदै अघि बढेका छौं ।” महानगरले जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ तथा सम्बन्धविच्छेद दर्ता शुल्क ३५ दिनभित्र गरे निःशुल्क त्यसपछि गरेमा जरिवानासहित ५० रुपैयाँ लाग्ने जनाइएको छ ।
महानगरले आन्तरिक स्रोत बढाउन अत्याधुनिक पौडी पोखरी, अत्याधुनिक सार्वजनिक शौचालय प्रयोग गरेवापत कर लगाउने तयारी गरेको छ । महानगरले २ सय ८४ प्रकृतिका व्यवसायलाई करको दायरामा ल्याएको छ । भरतपुर महानगरपालिकाका राजस्व शाखाका प्रमुख जगन्नाथ अर्यालले उद्योग वाणिज्य संघले श्रेणी छुट्याएर व्यवसायीको सूची दिएकाले आवश्यक अनुगमनपछि कर लिइने बताए । “स्वघोषणा पश्चात आएका सिफारिसअनुसार भए नभएको अनुगमन गरेर कर लिनेछौं,” उनले भने, “व्यवसायी करमा कुनै समस्या छैन ।”
उनका अनुसार साउनमा मात्रै ३ करोड ६६ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । महानगरको राजश्व मध्ये सम्पत्ति कर, व्यवसाय कर, सेवा शुल्क र घरबहाल करनै मुख्य हो । उनले सहज रूपमा कर संकलन गर्न १५ वटा वडाबाट कर संकलन गरिँदै आएको बताए । १ महिनाभित्रै सबै वडाबाट कर संकलन कार्य सुरु हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्