सुर्तीजन्य पदार्थविरुद्धको ऐन कार्यान्वयन गर्न समन्वयमा जोड

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) रामप्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थविरुद्ध ऐन–२०६८ प्रभावकारी रुपले कार्यान्वयन गर्न विभिन्न मन्त्रालयबीच समन्वय हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुछ्रे बैंकको सहकार्यमा मंगलबार आयोजित कार्यक्रममा उनले नेपाल प्रहरी सुर्तीजन्य पदार्थ रोकथामको लागि पूर्ण प्रतिबद्ध रहेको पनि विश्वास दिलाए ।
उनले नेपाल प्रहरी केन्द्र, संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रतिबद्ध भएको स्पष्ट पारे । किशोरकिशोरीहरुले सुरुमा सुर्तीजन्य पदार्थको सेवन गरे पनि कालान्तरमा लागुपदार्थको सेवन गर्ने कुरा अनुसन्धानले देखाएको श्रेष्ठले सुनाए ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ, वातावरणीय प्रभाव र अस्वस्थकर खानपिन नै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताए । स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्कर नेपालले नेपालमा स्थिर सरकार बनेपछि सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रभावकारी रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नुपर्ने धारणा राखे ।