मोटरसाइकल आयातमा विभागको बदमासी «

मोटरसाइकल आयातमा विभागको बदमासी

नेपालमा सवारीसाधन भित्र्याउँदा न्यूनतम युरो–थ्री सरह मापदण्ड पूरा भएको हुनुपर्ने व्यवस्था छ । युरो स्ट्यान्डर्ड नै नभएका मोटरसाइकल जतिसुकै वातावरणमैत्री भए पनि भित्र्याउन पाइँदैन । तर, यातायात व्यवस्था विभागले उक्त कानुनको उल्लंघन गर्दै प्रदूषण मापदण्ड नै कायम नभएको बंगालादेशमा उत्पादित रनर मोटरसाइकललाई ‘प्रदूणणस्तर’ ठिक छ भनी आयात अनुमति दिँदै आएको छ । रनर मोटरसाइकलको गुणस्तर जेजस्तो भए पनि यो मोटरसाइकल भित्र्याउँदा कानुनको उल्लंघन भएको छ र यो तथ्य यातायात व्यवस्था विभाग नै स्वीकारेको छ ।
भारतबाहेकका देशबाट आयात हुने सवारीले वार्षिक रूपमा सीओपी (कन्फर्मिटी अफ प्रोडक्सन) पेश गर्नुपर्छ । तर, रनर मोटरलाइकलले हालसम्म सीओपी पेश गर्न नसकेको विभागका एक प्राविधिकले बताए । “युरो थ्री सरहको सवारी आयात गर्न दिनु नै गलत भएको हो । हामीले पटक–पटक सीओपीलगायत कागजात ल्याउन भनेका छौं,” ती प्राविधिकले भन्छन्, “तर, कागजात ल्याउन नसक्दा उनीहरूले समस्या झेलिरहेका छन्, यसबारेमा विभागले पुनर्विचार गर्नुपर्छ ।”
सुरुमा बंगालादेशको मोटरसाइकल रनर म्याक्सी अटोमोबाइल प्रालिले आधिकारिक विक्रेताको रूपमा आयात गरेको थियो । हाल रनरको नेपालका लागि आधिकारिक बिक्रेता रमन मोटर्स प्रालि हो । उक्त कम्पनीले सुरुमा पुरानोजस्तै कागजात पेश गरेर स्वीकृति लिएको भएपनि हाल कागजात पु¥याउन सकेको छैन । किनकि बंगालादेशमा युरो स्ट्याण्डर्ड नै लागू भएको छैन ।
नेपालमा सवारीसाधन आयात गर्दा ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९’ (युरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक निर्देशक प्रेमकुमार सिंह बताउँछन् । तर, रनर मोटरसाइकलले त्यो मापदण्ड पूरा गरेको छ कि छैन भन्ने कारोबारको जिज्ञासामा उनले स्पष्ट जवाफ दिन चाहेनन् । बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै लागू नगरेको अवस्थामा नेपालमा रनर मोटरसाइकल आयात कसरी भइरहेको छ भन्ने कारोबारको प्रश्नमा त्यसबारे आपूm जानकार नभएको उनको भनाइ छ ।
भारतबाट आयात हुने सवारीसाधनले बीएस थ्री (युरो थ्री सरह) प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनी आयातको अनुमति दिन्छ । तर बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा युरो थ्री सरह छ भनी आयात अनुमति पाएको देखिन्छ । उक्त कागजात प्रमाणित भने विभागले नै गरिदिएको थियो ।
रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रमन मोटरका मार्केटिङ प्रतिनिधि कारोबारलाई प्राप्त डकुमेन्ट हेरेपछि ‘अवाक’ भएर फर्किए । उनले यसबारे केही प्रतिक्रिया दिन चाहेनन् । नेपाल भित्र्याउँदा बंगालादेशमा युरो मापदण्ड नभएकाले रनर कम्पनीले नै पठाएको कागजातका आधारमा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (युरो थ्री समानस्तर) भएको प्रमाणित गरी आयातको अनुमति दिइएको छ । यातायात व्यवस्था विभागका तत्कालिन प्राविधिक निर्देशक गोविन्दप्रसाद खरेलले रनर कम्पनीले उपलब्ध गराएको प्रदूषण परीक्षणकै आधारमा आयात अनुमति दिएको देखिन्छ ।
त्यतिमात्र होइन भारतमा उत्पादिन सवारीले हरेक ६ महिनामा र भारतभन्दा बाहेकका मुलुकबाट आयात हुने सवारीले हरेक १ वर्षमा सीओपी विभागमा पेश गर्नुपर्छ । तर, विभागले रनर मोटरसाइकललाई अहिले पनि आयातको अनुमति दिइरहेको छ । यसले विभागमाथि नै गम्भीर प्रश्न उब्जाएको छ ।
युरो थ्रीभन्दा कम मापदण्डको सवारी आयात गर्न हाम्रो कानुनले प्रतिबन्ध लगाएको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले जानकारी दिए । “देशले पारित गरेको कानुनभन्दा कमस्तरको सवारी आयात गर्न पाइँदैन,” पौडेलले भने, “कसरी आयात भयो यो विषयको जवाफ आयातको अनुमति दिने निकायले नै दिने हो ।” प्रदूषण मापदण्ड देशले आवश्यकता अनुसार तोकिएको हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्