सप्तरीको विकास सम्भावना «

सप्तरीको विकास सम्भावना

केन्द्रीय तथ्यांक विभागले केही साता अघि मात्रै सार्वजनिक गरेको तथ्यांकअनुसार सप्तरीका ४० प्रतिशतभन्दा बढी जनसंख्या हाल गरिबीको रेखामुनि जीवनयापन गर्न बाध्य छन् । पूर्वाञ्चल विकास क्षेत्र मात्र नभई तराईकै सबैभन्दा गरिब जिल्लाका रूपमा उक्त तथ्यांकले सप्तरीलाई प्रस्तुत गरेको छ । पछिल्लो एक दशकयता सप्तरीमा गरिबीको स्तर निकै बढेको उक्त तथ्यांकमा भनिएको छ । यद्यपि एक दशकअघि मुलुकमा समृद्ध तथा आत्मनिर्भर जिल्लाका रूपमा सप्तरीलाई लिने गरिन्थ्यो ।
कृषिका लागि निकै उर्बर मानिने सप्तरीमा पछिल्लो केही वर्षयता सिँचाइको उपयुक्त प्रबन्ध नहुनु, बीउ मलको अभाव, बदलिँदो परिवेशमा कृषकहरूमा आवश्यक कृषि ज्ञानको अभावलगायतका समस्याले कृषिक्षेत्रको उत्पादकत्व घट्दै गएको छ । मुलुककै पहिलो सिँचाइ प्रणाली चन्द्र नहर दशकौंदेखि जीर्णोद्धारको पर्खाइमा छन् । कोसी पम्प नरह तथा कोसी पश्चिमी नहर वितरण प्रणालीसहितका सिँचाइ पूर्वाधारको अवस्था पनि उस्तै छ । यहाँका आधाजति कृषियोग्य जग्गा अहिले पनि मौसमी वर्षामै आधारित रहेकाले उत्पादन घट्नुका साथै कृषकहरूको आर्थिक हैसियत पनि न्यून हुँदै गएको वयोवृद्ध किसान नेता मंगल राय बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार कुल ७१ हजार २ सय ५६ हेक्टर कृषियोग्य जग्गामध्ये ५१ प्रतिशत जग्गामा सिँचाइ प्रणालीहरूको पहुँच देखिन्छ । यी प्रणालीहरू पनि वर्षौंदेखि जीर्ण रहेका कारण ती ५१ प्रतिशत सिञ्चितमध्येका पनि अधिकांश जग्गाहरू सिँचाइका लागि वर्षाकै पर्खाइमा रहेका हुन्छन् । कुल जनसंख्याको ६२.२२ प्रतिशत कृषिमै आधारित छन् । यहाँको कृषि पेसा व्यवसायमुखीभन्दा पनि निर्वाहमुखी बढी भएकाले कृषकहरूको जीवनस्तरमा खासै फरक आउन सकेको छैन । सप्तरीका केही क्षेत्रमा गरिने आँपखेती, तरकारी खेती तथा पशुपालन मुलुकमै नमुनाका रूपमा रहेको छ ।
खास गरेर पूर्व–पश्चिम राजमार्गको छेउमा चुरे क्षेत्रसँग जोडिएको भू–भागमा गरिने सप्तरीको आँपखेती मुलुकमै परिचित छ । रूपनगर, कञ्चनपुर, धरमपुर, ठेलिया, फत्तेपुर, महुली, कुसहा, खोक्सर प्रवाहालगायतका गाविसहरूमा व्यावसायिक रूपमै आँपको खेती गर्ने गरिएको छ । सप्तरीको आँप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निर्यात गरिन्छ ।
आँपखेतीले यस क्षेत्रका कृषकहरूको जीवनस्तर नै फेरेको रूपनगरका अगुवा आँप उत्पादक उत्तम आचार्य बताउँछन् । त्यस्तै पछिल्लो केही समययता जिल्लाको पूर्वोत्तर क्षेत्रका केही गाउँमा सुरु गरिएको केरा खेतीसमेत निकै कम समयमा लोकप्रिय भएको छ ।
भारदह, पोर्ताहा, बदगामा, योगिनियाँ, मधवापुरलगायतका क्षेत्रमा गरिने केराखेतीले यस क्षेत्रका ठूलो संख्यालाई रोजगार उपलब्ध गराएको भारदहका अगुवा केरा कृषक रामु विश्वास बताउँछन् । पहिले–पहिले भारतबाट यस क्षेत्रमा आयात हुने केरा हाल यहाँबाट मुलुकभरि नै निर्यात गर्न थालिएको छ । केराखेतीमा राम्रो कमाइ हुन थालेको देखेर यस क्षेत्रका थुप्रै युवा बिदेसिनबाट समेत जोगेको भारदहका निर्वतमान गाविस अध्यक्ष पवन मण्डलको भनाइ छ ।
आँप र केरा मात्रै नभई जिल्लाको कोचाबखारी, इटहरी विष्णुपुर, बोरिया, कट्टीलगायतका गाविसहरूमा गरिने तरकारी खेती पनि कम समयमा निकै लोकप्रिय भएको छ । कोबी, परबल, कदिमा, खिरा, खुर्सानी, साग, आलु, प्याजलगायतका तरकारी उत्पादनमा पछिल्लो समय जिल्लाका केही ग्रामीण कृषक निकै चर्चित भएका छन् । बजारको अभाव, आवश्यक पुँजी तथा ज्ञानको अभावमा सोचेअनुरूप सफलता पाउन नसकेको कोचाबखारीका अगुवा कृषक विनोद मण्डलको भनाइ छ ।
यता जिल्लाको महुली, बकधुवा, लोहजारा, खोक्सरप्रवाहा, जण्डौलसहितका क्षेत्रका कृषकहरू पशुपालन गरेर समेत राम्रो आम्दानी गरिरहेका छन् । गाईपालनमा मुलुकमै चर्चित छन्— सप्तरीका महुली । पछिल्लो केही वर्षयता यहाँका खसीबाख्रा पालन व्यवसाय पनि मुलुककै लागि उदाहरणीय भइरहेको जिल्ला पशु विकास कार्यालय, सप्तरीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादव बताउँछन् । “राज्यले आवश्यक लगानी तथा पूर्वाधार निर्माण गर्न सके यस क्षेत्रका कृषकहरू रातारात समृद्धिको शिखर चुम्ने निश्चित छ,” डा. यादवले भने ।
यहाँ नदी नाला पनि छन्, चुरे पनि । वनजंगलसहितका प्राकृतिक स्रोतसाधन पनि नभएका होइनन् यहाँ । विकासको मेरुदण्ड राजमार्ग र भारतसँग जोडिएको भन्सार नाका पनि छन् । त्यसमाथि मुलुकमै शिक्षित जिल्लाका रूपमा पहिचान र प्रशासनिक पहुँच पनि राम्रै । तर, खै त विकास ?
विभिन्न राजनीतिक परिवेश र कालखण्डमा विरलै यस्तो मन्त्रिपरिषद् होला, जसमा सप्तरीको प्रतिनिधित्व नहोस् । त्यस्तो विरलै कालखण्ड होला जति बेला सप्तरीको प्रशासनिक पहुँच वा भनौं प्रशासनिक प्रतिनिधित्व नरहेको होस् । मुलुकमा राजमार्ग निर्माण हुनुअघि नै सप्तरी भएर हुलाकी मार्ग जाने गथ्र्यो । मुलुककै पहिलो सिँचाइ प्रणाली चन्द्रनहर सप्तरीमै निर्माण गरियो । कोसी पश्चिमी नहर वितरण प्रणाली, पम्प नहर सप्तरीमै छन् ।
सम्भवतः मुलुककै सबैभन्दा नजिकको ठूलो भन्सार नाका तिलाठस्थित राजविराज भन्सार कार्यालय सप्तरीमै छ । राजधानीपछिको मुलुककै पुराना विमानस्थलहरूमध्ये एक राजविराज विमानस्थल सप्तरीमै छ । त्रिभुवन विश्वविद्यालयभन्दा जेठो कलेज महेन्द्र विन्देश्वरी बहुमुखस् क्याम्पस सप्तरीमै छ । औद्योगिक क्षेत्र, मुलुककै पहिलो प्लानिङ सिटीसहितका थुप्रै पहिचान र उपलब्धि हुँदाहुँदै पनि समयान्तर सप्तरीको विकास भन्ने हुन सकेन ।
सप्तरीको वर्तमान आर्थिक अवस्था पनि त्यतिको जर्जर छैन । एक आँकडाअनुसार जिल्लाको ४० हजार युवा भारतलगायतका अन्य मुलुकहरूमा रोजगारीलगायतका कारणले बिदेसिएका छन् । उनीहरूले मासिक सरदर ५ हजार रुपैयाँ पनि रकम पठाए पनि वार्षिक रेमिट्यान्स झन्डै अढाई अर्बजति हुन्छ । यहाँस्थित विभिन्न सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक निक्षेप हेर्ने हो भन्ने झन्डै २ अर्बभन्दा बढी हुन्छ । तर, विकासको अवस्था भन्ने दयनीय छ ।
सप्तरीमा लगानीको वातावरण छैन, सुरक्षाको अभाव छ भन्ने नाकारात्मक प्रचार–प्रसार भइरहेको अवस्था अहिले पनि विद्यमान छ । तर, सप्तरीमा पछिल्लो तीन वर्षयता आधा दर्जनभन्दा बढी निजी बैंकहरू सञ्चालनमा आए । ग्रामीण भेगहरूमा पनि बैंकहरूको शाखा विस्तार हुँदैछन् र सबैजसो बैंकहरू कारोबार पनि राम्रै गरिरहेका छन् । सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्तलाल साह प्रश्न गर्छन्, “सुरक्षाको अभाव भए कसरी खोलिन्थ्यो त धमाधम बैंकहरू अनि लगानीको वातावरणै नभए लगानी गरेका बैंकहरू कसरी आफ्नो कारोबार सफलतापूर्वक गरिरहेका छन् ?”
वित्तीय क्षेत्र एउटा उदाहरण मात्रै भएको साहको भनाइ छ । उनले भने, “अन्यान्य क्षेत्रमा पनि निकै सम्भावना छन्, तर लगानीकर्तालाई हामीले आकर्षित गर्न नसक्दा यस्तो समस्या भएको हो ।” कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा निकै सम्भावना रहेको बताउँदै साहले भने, “नाकारात्मक र भ्रमपूर्ण प्रचार हामी आफैं गरिरहेका छौं, यसलाई रोक्नुपर्छ ।”
“प्रसिद्ध शक्तिपीठहरू छिन्नमस्ता, कंकालनी र राजदेवीलाई एउटै रुटमा जोडेर अन्य धार्मिक क्षेत्रहरू एउटा सर्किल बनाउन सक्यौं भने यहाँ पर्यटनको उत्तिकै सम्भावना छ,” साह भन्छन्, ‘दसैंमा मात्रै लाखौं श्रद्धालु सप्तरी आउँछन्, तर उनीहरूलाई आवश्यक सेवा–सुविधा उपलब्ध नगराइदा दसैंबाहेकको समयमा हामी त्यसलाई निरन्तरता दिन सकिरहेका छैनौं ।”
त्यस्तै भन्सार नाका नजिक हुँदाहुँदै पनि सडकको अभावमा कच्चा पदार्थसहितका मालसामान जोगवनी तथा वीरगन्ज भन्सारबाट ल्याउनुपर्दा लगानी बढ्दै गएकाले सप्तरीमा उद्योग–व्यवसाय समेत फस्टाउन नसकेको उनको भनाइ छ । यता सिँचाइको उपयुक्त प्रबन्ध, अतिकति कृषिसम्बन्धी ज्ञान र कृषि बजारको व्यवस्थापन गर्न सकिए मुलुकमै कृषिका लागि सप्तरी अब्बल हुने जानकारहरू बताउँछन् ।

मिथिलेशकुमार यादव

प्रतिक्रिया दिनुहोस्