ठूला करदाताले नै घटाए राजस्व

स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेका बेला ठूला करदाताको सूचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य कमी आएको छ । ठूला करदाता कार्यालयमार्फत झण्डै डेढ खर्ब रुपैयाँ राजस्व संकलन भए पनि ठूला करदाताको सूचीमा रहेका प्रमुख १० करदातामध्ये अधिकांशको राजस्व घटेको पाइएको हो ।
सरकारले उठाउने राजस्वको ८० प्रतिशत हिस्सा ठूला करदाता कार्यालयमार्फत संकलन हुने गरेको छ । यस कार्यालयमार्फत १२ सयभन्दा बढी करदाताले राजस्व बुझाउने गरेका छन् । करदाताको सख्या बढ्दै गए पनि आम्दानी, नाफा र कारोबारका आधारमा करदाताले तिर्ने राजस्वमा थपघट हुने गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सबैभन्दा धेरै राजस्व बुझाएको छ । यद्यपि उसले बुझाएको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २ अर्ब कमी देखिएको छ । एनसेलले अघिल्लो आर्थिक वर्षमा पुँजीगत लाभकरबाहेक १६ अर्ब ५५ करोड रुपैयाँ राजस्व बुझाएकोमा गत आवमा १४ अर्ब ७१ करोड राजस्व बुझाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षमा १३ अर्ब ७२ करोड राजस्व बुझाएको नेपाल टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ९६ करोडमात्रै राजस्व बुझाएको छ ।
अघिल्लो आर्थिक वर्षमा एनसेल र नेपाल टेलिकम धेरै राजस्व बुझाउने करदाताको सूचीमा अग्रस्थानमा थिए । कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्ष सरकारी स्वामित्वको अर्को संस्था नेपाल आयल निगमको राजस्वमा पनि उल्लेख्य गिरावट आएको छ । निगमले अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ६९ करोड राजस्व बmुझाएकोमा गत आर्थिक वर्षमा २ अर्ब ४६ करोड राजस्व बुझाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले निगमको नाफा घटेपछि ठूला करदाता कार्यालयमा बुझाउने राजस्वमा उल्लेख्य कमी आएको निगमको भनाइ छ । भन्सार र बूढीगण्डकी लागि उठाएको करसहितको रकम गत वर्षको तुलनामा करिब ८ अर्ब रुपैयाँ बढे पनि आयकरमार्फत सरकारलाई बुझाउने राजस्व घटेको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमको नाफा घट्यो, जसले ठूला करदाता कार्यालयमा बुझाउने राजस्व पनि कम हुन आयो,” साहले भने । कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ठूला पाँच करदाताबाट ४८ अर्ब १३ करोड राजस्व संकलन भएको थियो भने गत आर्थिक वर्ष सबैभन्दा बढी तिर्ने पाँच संस्थाबाट ४० अर्ब ८४ करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार दुई आर्थिक वर्षमा नै धेरै कर बुझाउनेमा तेस्रो स्थानमा रहेको वहुराष्ट्रिय कम्पनी सूर्य नेपालले भने अघिल्लो आर्थिक वर्षमा भन्दा बढी राजस्व बुझाएको छ । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १८ करोड रुपैयाँ राजस्व बुझाएको सूर्य नेपालले गत आर्थिक वर्षमा ८ अर्ब २७ करोड रुपैयाँ राजस्व बुझाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षमा धेरै राजस्व तिर्नेको संख्यामा प्रमुख १० भित्र रहन सफल भएको गोर्खा ब्रुअरीले ५ अर्ब ३ करोड राजस्व बुझाएको छ । अघिल्लो वर्ष गोर्खा ब्रुअरीले ४ अर्ब १९ करोड राजस्व बुझाएको थियो ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा एभरेष्ट बैंकले २ अर्ब ८७ करोड, नबिल बैंकले २ अर्ब ६७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४६ करोड राजस्व बुझाएका छन् । यस्तै कृषि विकास बैंकले १ अर्ब ८७ करोड र हिमालयन बैंकले १ अर्ब ७१ करोड रुपैयाँ राजस्व बुझाएको ठूला करदाता कार्यालयले जनाएको छ । सरकारले धेरै कर तिर्ने करदातालाई हरेक वर्षको कर दिवसको अवसर पारेर सम्मान गर्दै आएको छ । गत वर्ष सर्वाधिक कर तिर्ने करदाताको नाम आगामी मंसिरमा हुने साताव्यापी कर सप्ताहको अवसरमा सार्वजनिक गर्नेछ ।